यातायात क्षेत्रलाई सरकारले बेवास्ता गरेको व्यवसायीहरूको गुनासो ।

144

सरकारले यातायात क्षेत्रलाई बेवास्ता गरेको गुनासो व्यवसायीहरूले गरेका छन् । कोरोना भाइरसका कारण करिब ६ महिनादेखि लकडाउन हुँदा सबैभन्दा बढी यातायात क्षेत्र प्रभावित भएपनि सरकारले खासै चासो नदिएको व्यवसायीहरूले गुनासो गरेका हुन् ।

यातायात टाईम्ससंगको कुराकानीमा महाकाली सेती यातायातका पूर्व अध्यक्ष तथा त्रिपुरा टायर रिसोलिङ्ग सेन्टर प्रालि, महेन्द्रनगरका प्रबन्ध निर्देशक नवीन भट्टले लकडाउन तथा निशेधाज्ञाको समयमा यातायात व्यवसायीहरू ठूलो मारमा परेको गुनासो गरे । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि देखिन थालेपछि सरकारले गत चैत्र ११ गतेबाट देशभर लकडाउनको घोषणा गरेको थियो । करिब ४ महिना लकडाउन हुँदा सार्वजनिक सवारी साधनहरू ग्यारेजमा नै थन्किए । आम सर्वसाधारणलाई जिविकोपार्जन गर्न निकै समस्या भएपछि सरकारले साउन ७ गते लकडाउन खुल्ला गरेको हो । यसको केही समयपछि केही शर्त सहित सार्वजनिक यातायात सञ्चालनमा आए । एक सीट एक व्यक्ति राखेर सवारी सञ्चालन गरिरहेका व्यवसायीहरू पछिल्लो समय कोरोनाको जोखिम बढेको भन्दै देशका अधिकांश क्षेत्रमा भएको निशेधाज्ञाले थप प्रभावित बनेका छन् । यातायात टाइम्ससंगको कुराकानीमा चौतारी यातायात प्रा.लि. नारायणगढका अध्यक्ष भुवान बरालले भने “लामो समयसम्म ग्यारेजमै थन्किएका गाडीहरूमा खिया लागिसकेको थियो । टायर काम नलाग्ने अवस्थामा थिए । मर्मतसम्भार गर्ने पुँजीकै अभाव छ । बल्ल बल्ल गाडी मर्मत गरेर केही समय चल्दै थियो । अहिले फेरि निषेधाज्ञाले उस्तै बेहाल भयो ।”

लकडाउन पछि गाडी चलाउँदा सञ्चालन खर्च पनि नउठेको व्यवसायीको गुनासो छ । “गाडी नचलाउँदा इञ्जिन बिग्रने डर, चलाउँदा सञ्चालन खर्च पनि उठ्दैन ” व्यवसायीहरूले दुःख पोखे । एउटा गाडी मर्मतका लागि १ देखि ३ लाख सम्म खर्च लाग्ने व्यवसायीहरू बताउँछन् । २-४ वटा सवारी मर्मत गरेपनि बाँकी सवारीसाधन पुँजीको अभावमा ग्यारेजमै थन्किएको उनिहरूको भनाई छ । राज्यलाई अग्रिम राजश्व बुझाउने एकमात्र सेवामूलक व्यवसाय सञ्चालन गरिरहेका यातायात व्यवसायीको समस्यालाई सरकारले विशेष प्राथमिकताका साथ सम्बोधन गर्नुपर्ने उनिहरूको माग छ ।