अमेरिकाको सिलिकन भ्याली बैंक बन्द

70

भक्तपुर । अमेरिकाको ठूलो मध्येको एक सिलिकन भ्याली बैंकलाई नियामक निकायले बन्द गरिदिएको छ । घटनालाई सन् २००८ को मन्दीपछि अमेरिकी बैंकिङ क्षेत्रमा देखिएको ठूलो संकटका रूपमा समेत हेरिएको छ ।

सन् २००८ मा वासिंटन म्युचअल टाट पल्टिएको घटनापछि यो सबैभन्दा ठूलो संकट भएको बताइएको छ ।

बैंकले गत बुधबार घाटा पूर्तिका लागि ठूलो हिस्सामा शेयर बेचेको र करिब २.२५ बिलियनबराबरको नयाँ शेयर बेच्ने घोषणा गरेको थियो । बैंकको उक्त घोषणापछि ठूला शेयरहोल्डर र बचतकर्ताले आफ्नो लगानी र बचत फिर्ता लिन सुरु गरेका थिए ।

क्यालिफोर्नियामा मुख्यालय रहेको बैंक टाट पल्टिने अवस्थामा पुगेको नियामक निकायको भनाइ छ । नियामक निकायले सबै बचतकर्ताको पैसा सुरक्षित रहेको बताएको छ । फेडेरल डिपोजिट इन्स्योरेन्स कोर्पोरेसन(एफडीआईसी) ले करिब १७५ बिलियन डलर बैंकमा डिपोजिट रहेको जनाएको छ ।

३१ डिसेम्बर २०२२ सम्म बैंकको कुल सम्पत्ति २०९ बिलियन डलर बराबरको भएको बताइएको छ । सिलिकन भ्याली बैंक टाट पल्टिनुको आंशिक कारण संघीय रिजर्भ बैंकले गत वर्ष ब्याजदर वृद्धि गर्नु पनि भएको सीएनएनले जनाएको छ ।

सन् १९८३ मा क्यालिफोर्निया बैंकका रूपमा स्थापना भएको सिलिकन भ्याली बैंक पछिल्लो १ दशकमा तीव्र विस्तार भएको थियो ।