अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाले राष्ट्रपति डोनल्ड ट्रम्पलाई माइकल फ्लिनलाई राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्त नगर्न सावधान गराएको ह्वाइट हाउसले पुष्टी गरेको छ।
नोभेम्बरमा भएको चुनाव सकिएको ४८ घण्टा भन्दा कम समयमा नै आफ्ना उत्तराधिकारीसँग ओभल अफिसमा भएको भेटवार्तामा उनले त्यस्तो चेतावनी दिएको ओबामा प्रशासनका अधिकारीहरुले जनाएका छन्।
मंगलबार सिनेट समितिमा रुसी राजदूतसँग गरेको सम्वादले उनीमाथि ‘ब्ल्याकमेल’ गरिएको टिप्पणी गरिएको थियो।
गम्भीर प्रकृतिको सम्पर्कबारे ढाँटेको अभियोगमा उनलाई गएको फेब्रुअरीमा पदबाट हटाइएको थियो।
चेतावनी
अमेरिकी सेनाका अवकाशप्राप्त रथी फ्लिनले रुस विरुद्धको अमेरिकी प्रतिबन्धबारे ट्रम्पले पदभार ग्रहण गर्नुअघि नै रुसी राजदूतसँग कुराकानी गरेका थिए।

ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरले सोमबार भने, “यो सत्य हो की राष्ट्रपति ओबामाले आफु जेनरल फ्लिनको खासै प्रशंसक नभएको जानकारी गराएका थिए।”
तर स्पाइसरले फ्लिनले इस्लामिक स्टेट र अमेरिकालाई जोखिम रहेका अन्य मुद्दाहरुमा राष्ट्रपति ओबामा कठोर रुपमा प्रस्तुत नभएको भन्दै उनको कडा आलोचना गर्ने गरेकाले त्यसलाई आश्चर्यजनक प्रतिक्रियाका रुपमा नलिइएको उल्लेख गरे।
सन् २०१४ मा ओबामाले व्यवस्थापन र स्वभावमा समस्या देखिएको भन्दै फ्लिनलाई रक्षा गुप्तचर निकायको प्रमुखको पदबाट बर्खास्त गरेका थिए।
रुसी राजदूतसँगको सम्पर्कबारेका विवरण सार्वजनिक हुनुअघि नै ओबामाले ट्रम्पलाई चेतावनी दिएको र उनले त्यस्तो उच्च तहको पदका लागि उनी उपयुक्त नभएको ठान्ने गरेको एक जना ह्वाइट हाउसका पूर्व अधिकारीले एनबीसी न्यूजसँग भनेका छन्।
सुनुवाइ

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पलाई आफ्नो राष्ट्रिय सुरक्षा सल्लाहकारमा फ्लिनलाई नियुक्त नगर्न शुरुमै सावधान गराइएको अमेरिकी सिनेटरहरुलाई जानकारी दिइएको छ।
राष्ट्रपति ओबामा अन्तर्गतको न्याय मन्त्रालयकी कार्यवाहक प्रमुख सेली येटसले कंग्रेसको एउटा समितिमा फ्लिनले रुसी राजदूतसँगको उनको सम्पर्कबारे झुटो बोलेको बताइन्।
त्यसकारण फ्लिनले आफूलाई रुसीहरुको प्रभावमा रहन खुल्ला छाडेको उनले बताइन्।
पूर्व सैनिक जर्नेल रहेका फ्लिनले ह्वाइट हाउसलाई ढाँटेको कुरा सतहमा आएपछि राजीनामा दिनुपरेको थियो।
गोप्य
सेल्ली येट्सले आफूलाई पदबाट बर्खस्त गरिनुअघि ठ्याक्कै दश दिन राष्ट्रपति ट्रम्पको मातहतमा काम गरेकी थिइन्।

त्यस क्रममा उनले केही अप्रिय लाग्ने खबरहरु राष्ट्रपति समक्ष पुर्याएकी थिइन्।
सुनुवाइमा उनले गएको जनवरी २६ मा आफुले ह्वाइट हाउसका सल्लाहकारलाई भेट गरि फ्लिनले डिसेम्बरको अन्त्यमा गरेको रुसी राजदूतसँगको भेटका बारेमा उपरराष्ट्रपति र अरुलाई ढाँटेको जानकारी दिएको खुलाईन्।
उनका अनुसार रुसी अधिकारीहरुलाई त्यसपछि फ्लिनलाई ‘ब्ल्याकमेल’ गर्न सजिलो भएको थियो।
उक्त विवरण पछि चुहिएर सञ्चारमाध्यममा आएका थिए तर येट्सले आफु त्यसको श्रोत नभएको स्पष्ट पारेकी छन्।
उक्त चेतावनी दिइएको १८ दिनपछि मात्रै माइकल फ्लिनलाई राजीनामा दिन लगाइएको थियो र त्यसबिचमा उनले रुस, जापान र अन्य देशका अधिकारीसँग गोप्य सम्पर्कहरु समेत कायम राखेका थिए।