‘म त्यो सपना बाँडी रहेको छु, जुन म पूरा गर्न सक्छु’

2855

न्हुच्छेभक्त फोँजुले नेपाल मजदुर किसान पार्टीको तर्फबाट बैशाख ३१ गते हुने स्थानीय तहको चुनावमा चाँगुनारायण नगरपालिका प्रमुखको पदमा उम्मेदवारी पाएका छन् । स्थानीय तह निर्वाचनमा भक्तपुरको चार नगरमध्ये एक चाँगुनारायणको नेतृत्वका लागि उनले पार्टीका तर्फबाट जिम्मेवारी पाएका हुन् । आफ्नो जिम्मेवारी स्वरुप उनले आफ्नो पार्टीको एजेण्डासहित घरदैलो कार्यक्रम र पार्टी सदस्य परिचालन गरिरहेका छन् । लामो समयदेखि नेपाल मजदुर किसान पार्टीका इमान्दार सिपाहीका रुपमा कार्य गर्दै आएका फोँजुसँग गरिएको छोटो कुराकानी ः
तपाई आफूलाई कसरी चिनाउनु हुन्छ ?
म जनताको सेवा गर्छु भनी निक्लेको जनताको सेवकको रुपमा चिनाउन चाहन्छु । म यो सेवाका लागि योग्य सिपाही, चुनावी माहोलमा होमिएको एक योद्धाका रुपमा आफूले आफैलाई परिचित गर्न चाहन्छु ।

चुनावी मैदानमा हुनुहुन्छ, समय कम छ चुनावको प्रचार प्रचार कसरी गर्दै हुनुहुन्छ ?
अवश्य पनि समय कम छ जनतामाझ पु¥याउनु पर्ने कुरा धेरै छन् । म आफै पनि विभिन्न वडाहरुमा प्रचार प्रसारमा गइरहेको छु । वडाका साथीहरू जनताको घरघरमा आफ्नो एजेन्डा सहित गइरहनुभएको छ । थोरै समय त छ नै तैपनि हरेक वडाका घर दैलामा पुग्नु हाम्रो कर्तब्य पनि हो । हामी यसमा लागिरहेका छौँ ।
मतदाताका घर दैलोमा पुग्दा कस्तो देख्नुभएको छ चुनावी माहोल ?
राम्रो देखेको छु । जहाँ जान्छु ३/४ सय मान्छे हुनुहुन्छ त्यो पनि उत्साही अनि हँसिला अनुहार ।

के भनेर भोट माग्दै हुनुहुन्छ ?
मैले चाँगुनारायण नगरपालिकामा केके गर्छु भनेर स्पस्टसँग घोषणपत्रका साथ मतदातामाझ भनिरहेको छु । मैले नगरवासीलाई अनावश्यक सपना बाँडी रहेको छैन । मैले त केवल भोलिका दिनमा गर्न सकिने कुराहरु मात्र म यो गर्न सक्छु भन्ने भावले नै प्रचार प्रसार गरि रहेको छु । म चाँगुनारायण नपालाई पर्यटकीय स्थलका रुपमा विकास गर्न सक्छु, आज पनि हाम्रो नगर नामको मात्र नगर हो यो त गाउँ नै हो म यसलाई नगरको रुपमा विकास गर्न सक्छु, शुद्ध खानेपानी ब्यवस्थाका लागि कार्य गर्न सक्दछु , कृषि सडक, भक्तपुर चक्रपथको निर्माण कार्य अगाडी बढाउने कार्य , भक्तपुर काठमाडौं वैकल्पिक मार्गको निर्माण कार्य, हरेक वडामा स्वस्थ्य सेवा केन्द्रमा डक्टर अनी २४ घण्टे सेवा व्यवस्थित ल्यावको ब्यवस्था, शैक्षिक गुणस्तरको लागि आवश्यक कदम, सार्वजनिक बाटोमा सौर्य वत्ती जडान, नगरका प्रत्येक वडामा कम्तीमा २ खेलमैदान साथै इन्डोर गेमका लागि कम्तीमा २ कवर्डहलको ब्यवस्था, शिशु स्याहार, बाल उद्यान, खोला किनार भएर विहान मर्निङ वाक निक्लने मार्ग बगंैचा निर्माण, नगरमा पर्ने खोलानाला सफाई एवं संरक्षणका कार्य लगायतका कार्य जुन म गर्न सक्छु त्यही सपना बाँडी रहेको छु जुन म पुरा गर्न सक्छु ।

तत्काल तपाईंले गर्ने काम केके हुन् त ?
मैले सुरुमा गर्ने काम भनेको सार्वजनिक जग्गा संरक्षण हो । भूकम्पले ध्वस्त बनाएका वस्तीलाई पुन निर्माणमा कसरी ल्याउन सकिन्छ त्यसको अध्ययन एवं पुन निर्माणमा नै मेरो पहिलो पाहिला हुने छ । त्यस्तै ऐतिहासिक धरोहरहरु जिर्ण र डरलाग्दा हँुदा धार्मिक एवं अन्य पर्यटक आउन छाडेका छन् तिनलाई जिर्णेधार गरि पर्यटकिय नगर विकास गर्न पदमार्गहरु खोल्ने, हाल पनि नगरका ८० प्रतिशत किसान मजदुर वर्गका नै छन् जसको कृषि उपचले उचित बजारीकरण नपाउँदा किसान हतोत्साही भएका छन् त्यसको अन्त्यका लागि संकलन केन्द्र निर्माण गर्ने , कृषकलाई समयमा सिँचाईका लागि ड्याम कुलो एवं नालाको विकास गर्ने , ब्यवस्थित सहर विकासका लागि ढल मोटर बाटो पुल पुलेसा निर्माण गर्ने,कृषकको जिवनस्तर उकास्न आधुनिक प्रणालीवाट अर्गानिक खेती आवश्यक कदम चाल्नेमा नै मेरो कदम अगाडी बढने छ ।
स्थानिय तहले हाल मालपोत,शिक्षा, स्वास्थ्य, यातायात लगायत २२ वटा नयाँ अधिकारहरू पाएको छ । ती अधिकारहरु कार्यान्वयन गर्नु कठिन प्राय नै छन् एक त नयाँ नगरपालिका त्यसमा पनि स्रोत र साधनको कमि, तिनका लागि नयाँ अफिसहरु ब्यवस्था गर्नु पनि अवको दाहित्व हो त्यो नै पुरा गर्न म लागि पर्ने छु । यसको कार्यन्वयन गर्नु नै संविधान त अवको नयाँ नेतृत्वको दाहित्व पनि हो ।

अन्तमा ?
चुनावलाई लिएर चाँगुनारायाण नपाका जनतामा उत्साह छ । साथीहरू पनि बहुमत लिएर आउँछौँ भनिरहेका छन् । एकदम उत्साह र उमंगका साथ साथीहरू पनि काम गरिरहनु भएको छ । उक्त कामको उत्साहलाई म मर्न दिने छैन ।