भक्तपुर । भक्तपुर प्रहरीले खसी बोका चोरी गर्नेसहित मासु पसल सञ्चालक पक्राउ गरेको छ । प्रहरीले बिहीबार विहान अन्दाजी ३ बजेको समयमा प्रहरी चेकजाँच गर्ने क्रममा बा २ ज ४३२७ नं. को ट्याक्सी चेकजाँच गर्ने क्रममा एक व्यक्तिलाई सोधपुछ गरेको थियो ।
ट्याक्सीमा १ वटा कालो बोका राखी ल्याएको थाहा पाएपछि प्रहरीले रामेछापको दोरम्वा १ घर भई हाल भक्तपुर सूर्यविनायक वस्ने वर्ष २४ को सुमन तामाङ, मध्यपुर ठिमी बस्ने वर्ष ४० को मिलन तामाङ, रामेछापको मन्थली नगरपालिका वडा नं ५ सुनारपानी घर भई हाल जिल्ला काठमाण्डौंको पेप्सीकोलामा रामेछाप उदयपुर मासु पसल सञ्चालन गर्ने वर्ष ४३ को दिल बहादुर कार्कीलाई पक्राउ गरेको हो ।
पक्राउ परेका मध्ये सुमन ट्याक्सी चालक हुन् भने कार्की मासु पसल सञ्चालक हुन् ।
पक्राउ परेका तिनीहरुसँग सोधपुछ गर्दा काभ्रेपलान्चोक पनौती नगरपालिका वडा नं ३ कुशादेवीको रित प्रसाद सापकोटाको घरबाट बोका चोरी ल्याएको र पेप्सीकोलामा रहेको रामेछाप उदयपुर मासु पसलमा बेच्न हिडेको भन्ने समेत अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले हाल सम्म काभ्रेपलान्चोकको विभिन्न ८ स्थान र भक्तपुरको १७ स्थानबाट ४ वटा बोका र ३६ वटा खसी चोरी भएको भन्ने समेत खुल्न आएको छ ।