मेला महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्दछः कृषि मन्त्री भुषाल

78

भक्तपुर । नेकपा एकिकृत समाजबादीका उपाध्यक्ष तथा कृषि तथा पशुपन्छी विकाश मन्त्री डा.वेदुराम भुषालले मेला र महोत्सवले स्थानीय कृषि उत्पादनलाई प्राथमिकता दिनु पर्ने बताएका छन् ।
नयाँ वर्ष तथा बिस्काः जात्रा २०८० सालको अवसरमा आयोजित ‘सातौं भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७९÷८०को उद्घाटन गर्दै मन्त्री भुषालले भने “५१ प्रतिशत किसान भएको देशमा कृषि उत्पादन आयात गर्नु दःुखद पक्ष हो ।”
हाम्रो देश नेपाल कृषि उत्पादनमा पछाडी भएको र करिब २४ प्रतिशत मात्रै कृषि उत्पादनले राष्ट्रिय आयमा योगदान गरेको मन्त्री भुषालले जानकारी दिए ।
“हाम्रो अर्थतन्त्रलाई सवल बनाउन, हामी स्वस्थ हुन मौलिक (अर्गानिक) कृषि उत्पानदलाई समावेश गर्नु पर्दछ,” मन्त्री भुषालले भने ।
भक्तपुर किसानहरुको जिल्ला भएकाले जुजु धौःको प्रचारमा सबै जना लाग्नु पर्नेमा कृषि मन्त्री भुषालले जोड दिए ।
कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी खग्रेन्द्र प्रसाद रिजालले विगतका वर्षहरुमा जस्तै महोत्सवमा शान्तिपूर्ण ढंगले सहभागी हुन सबैमा आग्रह गरे ।
बिस्काः जात्रालाई ध्यानमा दिएर भक्तपुरमा जात्रा अवधिभर सबै जनाको सहमतिमा खुल्ला रुपमा मदिरा बिक्रि वितरणमा रोक लगाईएको समेत प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।
कार्यक्रममा पत्रकार महासंघ भक्तपुरका अध्यक्ष जगत प्रजापति, एकिकृत समाजवादीका भक्तपुर अध्यक्ष श्याम बस्नेत, औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महत र महोत्सवका संयोजक दीपक थापाले महोत्सवले भक्तपुर सांस्कृति तथा पर्यटन विकाशमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।
औद्योगिक शान्ति नेपाल संस्था, मध्यपुर ब्वाईज व्याण्डकोे आयोजना र भक्तपुर जिल्ला खेलकुद विकाश समितिको सहयोगमा महोत्सव रहेको छ ।
उक्त महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु, बिभिन्न्न प्रकारका लत्ताकपडाहरुका साथै बाल उद्यान र दैनिक सांगीतिक प्रस्तुती हुने आयोजकले जानकारी दिएको छ ।
प्रवेश शुल्क रु. ५० र ७० रहेकोमा विद्यार्थी र जेष्ठ नागरिकलाई छुटको व्यवस्था गरिएको आयोजक संस्थाले जानकारी दिएको हो ।
महोत्सव यहिँ चैत्र २३ गतेदेखि २०८० साल बैशाख ३ गतेसम्म ११ दिनसम्म चल्नेछ ।