एमाले निकट गुण्डा नाइके चक्रे मिलन पक्राउ

671

काठमाडौं । प्रहरीले गुण्डा नाइके सूचीमा राखेका चक्रे मिलन (मिलन गुरुङ) पक्राउ परेका छन् । चुनावी सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै महानगरीय प्रहरीले गुण्डा नाइकेहरुको सूची नै बनाएर पक्राउ अभियान चलाएको छ ।

महानगरीय अपराध महाशाखाले उनलाई मंगलबार दिउँसो चक्रपथस्थित निवासबाट पक्राउ गरेको हो । चक्रे मिलन राजधानीको पुरानो गुण्डा नाइकेका रुपमा चिनिन्छन् । गुण्डागर्दी नियन्त्रण अभियान अन्तर्गत चक्रे मिलन पक्राउ परेको अपराध महाशाखाका डिएसपी अजय केसीले बताए ।

चक्रे एमाले निकट मानिन्छन् । उनका भाई तेजेन्द्र गुरुङलाई प्रहरीले गएको शुक्रबार नै पक्राउ गरिसकेको छ । चक्रपथ क्षेत्रमा अझै उनको समूहको हप्ता असुली चल्दै आएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

वैशाख ३१ को स्थानी तह निर्वाचनको शान्ति सुरक्षामा खलल पार्न सक्ने एक सय ३१ गुन्डाको सूची बनाएर प्रहरीले पक्राउ अभियान चलाएको काठमाडौं प्रहरी प्रमुख छलिलाल जोशीले बताए ।

उनका अनुसार हालसम्म ३५ जना पक्राउ परीसकेका छन् । दीपक मनाङ्गे भनिने राजिव गुरुङ, साजन महर्जन, संजीव लामा ‘स्याल’, राजु बोगटी लगायत पक्राउ परिसकेका काठमाडौं प्रहरीले जनाएको छ ।