क्यान्सर जितेकाहरुसंग र्याम्पमा नाचे डाक्टरहरु

वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठले दिए २५ हजार

105

बलराम प्यासी
ललितपुर । विहीबार साँझ होटेल हिमालय कुपण्डोलको हलमा गज्जवको रौनक थियो । अस्पतालमा भएको भए क्यान्सरका विरामी छट्पटिईरहेका र डाक्टरहरु उनीहरुको उपचारमा खटिईरहेका हुन्थे ।
तर होटेलको हलमा क्यान्सरसंग लडिरहेका विरामी पनि थिए र क्यान्सरलाई हराईसकेकाहरु पनि । अनि उनीहरुलाई उपचार गरि निको पार्ने नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका डाक्टर र नर्सहरु पनि । फरक यति थियो कि ति सबैजना ‘र्याम्प शो’ मा साथ दिएर नाच्दै थिए । अर्थात सयौं दर्शक सामु आफ्नो प्रतिभा प्रस्तुत गर्दै थिए ।

9
‘क्यान्सर ठुलो रोग होइन, बेलैमा उपचार गरे निको हुन्छ, आत्तिनु पर्दैन’ भनेर विरामीलाई हौसला दिने नेपाल क्यान्सर सहयोग समूह र उपचारको लागि सहयोगी हातहरु संस्थाका स्वयमसेवकहरु पनि र्याम्प शोमा थिए ।
क्यान्सरसंग ६ वर्षसम्म संघर्ष गरेकी आफ्नी श्रीमती यशोदा श्रेष्ठको क्यान्सरबाटै निधन भएको स्मरण गर्दै पहिलेको भन्दा अहिले नेपालमै क्यान्सरको उपचार गर्ने राम्रा अस्पताल र अनुभवी चिकित्सकहरु रहेकोले उपचारको लागि विदेसिन नहुने बताउँदै थिए प्रमुख अतिथि वरिष्ठ हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ ।
‘नेपालमा र विदेशमा क्यान्सर रोगको उपचार एउटै हो, तर विदेशको तुलनामा नेपालमा सस्तो र धेरै राम्रो रहेको’ उनको दावी थियो ।


क्यान्सर रोग लुकाउन नहुने बताउँदै कलाकार श्रेष्ठले क्यान्सर जित्नेहरुलाई ऐक्यवद्ध गर्न सफल भएकोमा ‘उपचारको लागि सहयोगी हातहरु’ संस्थालाई आफ्नी स्वर्गवासी श्रीमतीको नाउँमा २५ हजार रुपैयाँ सहयोग गरे ।
कार्यक्रममा क्यान्सर विजेता ३ वर्षे वालकदेखि ८० वर्षेसम्म र डाक्टर, प्रहरी उपरिक्षक देखि गृहिणीहरु समेतले पालैपालो विभिन्न पहिरनमा नृत्य, गायन र कविता वाचन गरि रमाइलो गरेका थिए । र्याम्प शो को कोरियोग्राफर नेपालकी पहिलो मोडेल एवम् क्यान्सर विजेता डली गुरुङ्गले गरेकी थिइन् ।
कार्यक्रम संयोजक नेपाल क्यान्सर अस्पतालकी निर्देशक स्वरुपाा श्रेष्ठले विगतको तुलनामा अहिले क्यान्सर रोग लागेर लुकाएर बस्नेहरुको संख्या कम हुँदै आएको उल्लेख गर्दै क्यान्सर लगायत हरेक प्रकारको रोगलाई जित्न दृढ आत्मविश्वास चाहिने बताँइन् ।


त्यस अवसरमा पर्यटन व्यवसायी कर्ण शाक्य, मिस नेपाल वल्र्ड २०२२ प्रियन्का रानी जोशी तथा आयोजकहरुको तर्फबाट दलिप भट्टराई, गणेश भक्त श्रेष्ठ, नेपाल क्यान्सर अस्पतालका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठ लगायतले क्यान्सर रोगको समयमै उपचार गर्नुपर्ने कुरामा जोड दिए ।