धनगढीका दुई सडकमा कुकर बम, डोटीमा ट्रक जलाइयो

507

धनगढीः स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले धनगढीका दुईवटा सडकमा प्रेसर कुकर बम राखेर यातायात अवरोध गरेको छ ।

सो पार्टीले धनगढीको मुख्य चौराहाबाट उत्तर अत्तरिया जाने सडक र पूर्व जोड्ने मनहेरा सडकमा आज बिहान बम राखेर यातायात अवरुद्ध पारेको हो ।

चौराहा नजिक राखेको बम इन्जिनियरिङ गुल्म बोराडाडीबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले अहिले बिहान ७ बजे निस्कृय पारेको छ भने मनहेरामा राखेको बम केही बेर अघि निस्कृय पारेको छ ।

आफ्ना पार्टीका कार्यकर्ताहरूलाई प्रहरीले पक्राउ गरेको विरोधमा नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्द आव्हान गरेको छ । बन्द सफल बनाउन सडकमा बम राखेको सो पार्टीका एक जना जिल्लास्तरीय नेताले बताए ।

धनगढीको चौराहामा प्रेसर कुकरमा खतरा लेखेको अवस्थामा बम भेटिएको हो । मनेहरामा भने बोरा भित्र प्रेसर कुकर बम भेटिएको प्रहरी जनाएको छ ।

बम भेटिएका दुवै ठाउँमा प्रहरीले उच्च सुरक्षा सतर्कता अपनाउँदै केही बेर यातायात बन्द गरेको थियो । सडक खाली गराएर बम निस्कृय पारेपछि अहिले सडकमा सवारी साधन निर्वाध गुड्न थालेका छन् ।

डोटीमा ट्रक जलाइयो

नेपालगञ्जबाट सामान लिएर साँफे जाँदै गरेको एक ट्रक डोटीको शिखर नगरपालिका त्रितालमा जलाइएको छ ।

आमहड्ताल उल्लंघन गरेको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले ट्रकमा आगजनी गरेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।