रुपेश जैसवालले उचाले भक्तपुरमा आयोजित खुल्ला बुद्धिचालको उपाधि 

43

भक्तपुर । भक्तपुर युवा टिमको आयोजनामा भक्तपुरमा भएको स्वर्गीय त्रिरत्न ग्वाछा स्मृति खुला रापिड बुद्धिचाल प्रतियोगितामा रुपेश जैसवाल प्रथम भएका छन् । प्रतियोगितामा सुदीप तामाङ दोस्रो र बद्रीलाल नेपाली तेस्रो हुन सफल भए ।

शुक्रवारदेखि सुरु भएको प्रतियोगितामा प्रतियोगितामा चौथो सुरोज महर्जन, पाँचौँ सुशील चौधरी, छैटौँ क्षितिज भण्डारी, सातौँ सुरवीर लामा, आठौँ नवीन तण्डुकार, नवौँ सुसोन दाहाल र दसौँ राजेश कक्षपति हुन सफल भए ।

विजयी खेलाडीहरूलाई शनिवार एक कार्यक्रम गरी पुरस्कार तथा प्रमाणपत्र प्रदान गरियो । उनीहरूलाई बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईंले पुरस्कार तथा प्रमाणपत्र प्रदान गरे । प्रतियोगितामा पहिलो हुने नगद रु २५ हजार, दोस्रो हुने १५ हजार र तेस्रो हुने १० हजार नगद पुरस्कारबाट पुरस्कृत भए । चौथो हुनेलाई आठ हजार, पाँ चौ हुनेलाई ६ हजार र सान्त्वनालाई पाँंचपाँंच हजार नगद पुरस्कारको व्यवस्था रहेको रहेको थियो ।

आयोजक टिमका अध्यक्ष केशव त्वानाबासुका अनुसार प्रतियोगितामा कुल एक सय ४० जनाले सहभागिता जनाएका थिए । तर ६ जना मात्रै महिला थिए । प्रतियोगितामा सातदेखि ८२ वर्षसम्मका सहभागी भएको जनाइयो । प्रतियोगितामा विदेशी खेलाडीहरूसमेत सहभागी रहेको जनाइयो ।

टिमको कार्यसमिति सदस्य त्रिरत्न ग्वाछाको स्मृतिमा प्रतियोगिता गरिएको हो । ग्वाछाको झन्डै ४५ दिन अघि अल्प आयुमै अकल्पनीय निधन भएको थियो । उनी जिल्लाका चर्चित बुद्धिचाल खेलाडी थिए । कार्यक्रममा स्वर्गीय ग्वाछाका धर्मपत्नी लक्ष्मीश्वरी ग्वाछालाई पनि कदर पत्र वितरण गरिएको थियो ।

पुरस्कार वितरण समारोहमा टिमका संस्थापक अध्यक्ष विश्वराम कवां, भक्तपुर नगरपालिका वडा नं ७ का वडा अध्यक्ष उकेश कवां, केन्द्रीय बुद्धिचाल महासङ्घका अध्यक्ष विदुरप्रसाद गौतम, भक्तपुर खेलकुद विकास समितिका अध्यक्ष दीपक थापा, टिमका सचिव रामेश्वर मचामसी, सदस्य सुरेश कवांलगायतले खेलाडीको सम्मान स्वरूप प्रतियोगिता आयोजना गरेको सुनाए ।

भक्तपुर युवा टिम भक्तपुरकै एउटा पुरानो खेलकुद खेलकुद टिम हो । यसले प्रत्येक वर्ष भक्तपुर कप खुल्ला फुटबल प्रतियोगिता गर्दै आइरहेको छ । यसअघि पहिलो दिन शुक्रवार टिमका संस्थापक अध्यक्ष विश्वराम कवांले प्रतियोगिताको उद्घाटन गरेका थिए ।