क्यान्सरबारे जनचेतना फैलाउन नेपाल क्यान्सर हस्पिटलको पैदलयात्रा

17

ललितपुर । क्यान्सरको उपचारको लागि विदेशका अस्पतालमा धाउन नपरोस् भनेर ६ वर्षअघि स्थापना भएको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिले क्यान्सरबारे जनचेतना फैलाउन ललितपुरमा भवय सांगितिक पैदलयात्रा (वाकाथुन) आयोजना गरेको छ ।
अस्पतालको स्थापनाको पुर्व सन्ध्यामा जनचेतनामूलक वाकाथुन आयोजना गरिएको अस्पतालकी निर्देशक स्वरुपा श्रेष्ठले बताइन् ।
वाकाथुनमा सो अस्पतालका कार्यकारी अध्यक्ष एवम् वरिष्ठ क्यान्सररोग विशेषज्ञ डा.सुदिप श्रेष्ठको साथै अस्पतालका सञ्चालक, चिकित्सक तथा स्वास्थ्यकर्मी, कर्मचारी, क्यान्सरको उपचार गराईराखेका तथा क्यान्सर जितेकाहरु समेतको ठुलो संख्यामा सहभागिता रहेको थियो ।
साथै विपन्न क्यान्सररोगीको उपचारमा संलग्न रहेको उपचारको लागि सहयोगी हातहरु तथा नेपाल क्यान्सर सहयोग समूहका पदाधिकारीहरु पनि वाकाथुनमा सहभागी थिए ।
वाकाथुनलाई सम्वोधन गर्दै नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष डा.सुदिप श्रेष्ठले क्यान्सर उपचारको लागि धेरै नेपालीहरुले विदेशका अस्पतालमा धाउँदा पैसा र समयको वर्वाद हुनुको साथै धेरै दुःख पाउने गरेकोले नेपालमै सरल र सुलभ उपचारको लागि भनेर नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको स्थापना गरिएको बताए ।
लगनखेलबाट शुरु भएको वाकाथुन मंगलबजारस्थित कृष्ण मन्दीर हातामा रमाइलो सांगितिक कार्यक्रमका साथ प्रस्तुत भएको थियो भने जाउलाखेलमा गएर समापन गरिएको थियो ।