काठमाडौं- दोलखाको गौरीशंकर गाउँपालिकामा पहिरोले घर पुरिँदा चार जना बेपत्ता भएका छन्। पहिरोमा पुरिएर स्थानीय कृष्णबहादुर मगर, उनकी श्रीमती देव मगर, हरिलाल श्रेष्ठ र ३ वर्षीय बालक प्रिन्स थामी बेपत्ता भएका हुन्।
दोलखाको गौरीशंकर गाउँपालिका- ७ मार्बु गाउँमा बिहीबार साँझ खसेको पहिरोले ५ घर पुरेको छ। पहिरोमा पुरिएकाहरुको सुरक्षाकर्मी र स्थानीयबासीले खोजी गरिरहेको गौरीशंकर गाउँपालिका- ७ वडाध्यक्ष दावा शेर्पाले जानकारी दिएका छन्।
पहिरोमा पुरिएका तीन जनाको उद्धार गरिएको छ। घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याउने तयारी भइरहेको बताइएको छ।
पहिरोबाट अन्य १६ वटा घर जोखिममा छन्। सल्लेको पहिरोले केही तल रहेको टोपाटार गाउँमा पनि ३ घर पुरिएको वडाध्यक्ष शेर्पाले बताए।
उनका अनुसार हिजो दिनभर मुसलधारे पानी परेकोले उद्धार गर्न कठिनाइ भएको थियो। दुर्गम भएकाले उद्धार गर्न असहज भएको र अहिले केही प्रहरी पुगेपछि उद्धार सुरु गरिएको छ।