एक महिना चल्ने गुँला पर्व आज देखी सुरु 

111
फाइल फोटो

भक्तपुर ।

एक महिने गुँला पर्व आज देखी सुरु भएको छ । विशेष गरी बौद्ध धर्मावलम्बीहरूले धूमधामका साथ मनाउने यो पर्व नेपाल सम्वतको गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म एक महिना मनाइने गरिन्छ । यो पर्व यसवर्ष साउन ३२ गते देखी भाद्र ३० गतेसम्म मनाइने छ ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ ‘नौ’ र ‘ला’ को अर्थ ‘महिना’ हो, यसर्थमा नेपाल संवतको नवौँ महिनामा मनाइने पर्व भएकाले यसलाई गुँला पर्व भनिएको संस्कृतिकर्मीहरूको भनाई रहेको छ ।

गुँला पर्वको अवसरमा विशेष गरी नौ बाजा बजाउने प्रचलन रहेको छ । गुँला पर्व विशेष गरी बौद्धमार्गीहरुको पर्व भएता पनि यस पर्वमा अन्य धर्मावलम्बीहरू समेत सहभागी हुने गरेको छ । गुँला पर्वको अवसरमा नगरका बहा:, बही, चैत्य लगायत विभिन्न मठमन्दिरको परिक्रमा गर्ने प्रचलन रहेको छ ।

गुँला पर्वमा बौद्धमार्गीहरु विशेष गरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्नुका साथै बौद्ध, पाटनको पुलचोक लगायतका उपत्यकाका विभिन्न चैत्यहरूको समेत परिक्रमा गर्ने गर्दछन् । काभ्रेको नमो बुद्ध, काठमाडौँस्थित स्वयम्भू महाचैत्य र बौद्ध स्तूप, साँखुको बज्रयोगिनी तथा कीर्तिपुरको चोभारस्थित आदिनाथको समेत दर्शन गर्ने प्रचलन रहेको छ ।

गुँला पर्वको प्रमुख विशेषता धा:, ङ्याकूँ र चती बाजा बजाउनु हो । यो बाजा राँगा र भेडाको सिङबाट निर्माण गरिएको हुन्छ । विशेष गरी जङ्गली अर्ना भैँसीको सिङबाट ङ्याकूँ बाजा तयार गरिन्छ भने चती बाजा भेडाको सिङबाट निर्माण गरिन्छ ।

पछिल्लो समय विभिन्न मौलिक बाजागाजा सहित गुँला पर्व मनाउने प्रचलनमा वृद्धि भएको छ, जसअनुसार बाँसुरी बाजा, धिमे बाजा, भुस्या बाजा बजाएर पनि चैत्यहरूका साथै स्थानीय इष्टदेवता, गणेश, भीमसेन, भैरव र अष्टमाट्रिका लगायतका देवी देवताहरूको समेत परिक्रमा गर्ने प्रचलन छ । साथै बौद्ध धर्मावलम्बी बाहेकका समुदाय समेत गुँला पर्वको अवसरमा चैत्यहरूको परिक्रमा गर्न जान थालेका छन् ।

यसैबिच यस वर्ष पहिलो पटक मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीस्थित दिव्यश्वरी ज्ञान माला भजन खलःले गुँला यात्रा निकालिएको छ । भजन खलःका गुँला पर्वको अवसरमा भदौ ४ गते सोमवार चाँगुनारायण, भदौ ६ गते बुधवार साँखु बज्रयोगिनी, भदौ १३ गते बुधवार काभ्रेपलान्चोकको नमो बुद्ध, भदौ २० गते बुधवार बाडे गाउँ, भदौ २७ गते बुधवार ललितपुरको जल विनायक र कार्य विनायक र अन्तिम दिन भदौ ३० गते शनिवार स्वम्भु महाचैत्यको परिक्रमा गर्ने कार्यक्रम रहेको छ । यसका साथै दैनिकरुपमा मध्यपुर थिमि नगरपालिका–१, लोहकिल्थलीका विभिन्न मठ मन्दिरको परिक्रमा गरिने कार्यक्रम रहेको छ ।