समाजवादी चिन्तक एवं प्रजातन्त्र सेनानी नन्दलाल मिश्रको निधन

54

पूर्वी नवलपरासी — समाजवादी चिन्तक कांग्रेसका पुराना नेता नन्दलाल मिश्रको निधन भएको छ । पश्चिम नवलपरासीको बैदौली निवासी ७८ वर्षीय मिश्रको बिहीबार आफ्नै निवासमा निधन भएको हो ।

२००७ सालपछि कांग्रेसको राजनीतिमा सक्रिय मिश्र समाजवादी आन्दोलनमा लागेका निष्ठावान नेता थिए । बीपी कोइराला र भारतीय नेता राममनोहर लोहियाको विचारबाट प्रेरित भएर कांग्रेसमा सक्रिय रहेको बताउने मिश्रले पञ्चायतकालमा पटक-पटक जेलजीवन बिताएका थिए । बहुदलपछि उनी कांग्रेसबाट संसद्‌मा उम्मेदवार बनेर पराजित भएका थिए ।

कांग्रेससँग असन्तुष्ट बन्दै मिश्र पछिल्लो समय हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टीमा आबद्ध थिए । कांग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलले मिश्रको निधनले समाजवादी आन्दोलनलाई क्षति पुगेको बताए । ‘उहाँ सच्चा समाजवादी नेता हुनुहुन्थ्यो,’ कँडेलले भने, ‘नेपालमा उहाँ बीपी कोइरालाको समाजवादी चिन्तनको सच्चा अनुयायी र प्रजातन्त्रप्रति प्रतिबद्ध अगुवा नेता हुनुहुल्थ्यो ।’