भारतले रच्यो इतिहास, चन्द्रयान ३ चन्द्रमाको सतहमा अवतरण

43

बेंगलुरु । भारतले चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण गराएको छ । योसँगै भारतले इतिहास रचेको छ । अमेरिका, पूर्व सोभियत संघ र चीनले चन्द्रमाको सतहमा ‘सफ्ट ल्यान्डिङ’ गरे पनि चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा भने ‘सफ्ट ल्यान्डिङ’ भएको छैन । भारतले दक्षिणी ध्रुवीय क्षेत्रबाट ल्यान्डिङ गर्दै इतिहास रचेको हो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) को महत्वाकांक्षी तेस्रो चन्द्र अभियान बुधबार साँझ नेपाली समय अनुसार साँझ ५ः५९ बजे चन्द्रयान–३ को ल्यान्डर मोड्युल (एलएम) चन्द्रमाको सतहमा अवतरण गर्ने प्रक्रिया शुरु गरेकामा साँझ ६ः१९ बजे चन्द्रमामा पहिलो कदम राखेको हो ।

ईसरोका निर्देशक एस सोमनाथले आगामी १४ दिन निकै महत्वपूर्ण रहेकोसमेत प्रतिक्रिया दिएका छन् ।

भारत पृथ्वीको एकमात्र प्राकृतिक उपग्रह चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने विश्वको पहिलो देश बनेको हो ।

ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सम्मिलित ल्यान्डर मोड्युलले चन्द्रमामा पाइला राखेको हो । प्रज्ञानलाई बाहिर आउन एक दिनको समय लाग्न सक्ने सोमनाथले बताए ।

प्रज्ञानले चन्द्रमाको वातावरणका बारेमा जानकारी दिन्छ । योसँगै भारत चन्द्रमामा सफलता हासिल गर्ने चौथो देशसमेत बनेको छ । यसअघि अमेरिका, सोभियत संघ र चीनले यो सफलता हासिल गरेका छन् ।

विक्रम र प्रज्ञानले एक आपसमा फोटो खिचेर पृथ्वीमा पठाउने छन् ।

गत १४ जुलाईमा ईसरोले श्रीहरिकोटाबाट चन्द्रयान ३ लन्च भएको थियो ।

यो सफलतासँगै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुसँग जोडिएर बधाई दिएका छन् । उनले यो क्षण भारतको सामर्थ्यको रहेको पनि बताएका छन् ।

यो क्षण भरातमा नयाँ उर्जा, नयाँ विश्वास र नयाँ चेतनाको भएको पनि मोदीले बताएका छन् ।

अमृतकालमा अमृतवर्षा भएकोसमेत मोदीले बताएका छन् ।