क्यान्सर अस्पतालका सम्पूर्ण शय्या निःशुल्क

13

चितवन । चितवनस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रहेका सम्पूर्ण जनरल शय्या (बेड) निःशुल्क गरिएको छ । अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेल नियुक्तिपछिको पहिलो बैठकले शय्या निःशुल्क गर्ने निर्णय गरेको हो ।

बैठकले असोज १ गतेदेखि लागू हुने गरी अस्पतालका सघन उपचार कक्ष (आइसीयू), पोष्टअप र क्याबिनबाहेकका सम्पूर्ण जनरल (साधारण) शय्या निःशुल्क गर्ने निर्णय गरेको कार्यकारी निर्देशक डा. पौडेलले जानकारी दिए ।

पदभार ग्रहण गर्दैगर्दा पौडेलले शय्या निःशुल्क गर्ने टिप्पणीमा पहिलो हस्ताक्षर गरेका थिए । अस्पतालमा कुल चार सय ५० शय्या रहेका छन् । जसमध्ये तीन सय ५० हाराहारी जनरल शय्या रहेका छन् । अस्पतालले भर्ना भएका बिरामीलाई खाना निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

बैठकले अस्पतालको उपनिर्देशनमा डा. उमेश नेपाललाई नियुक्त गरेको छ । यसैगरी सञ्चालक सदस्यमा डा. कृष्णसागर शर्मा र डा. भावना वाग्लेलाई नियुक्त गरेको छ । अस्पतालको तर्फबाट एक महिलासहित दुई जना चिकित्सक नियुक्त गर्नुपर्ने व्यवस्थाअनुसार डा. शर्मा र वाग्लेलाई बैठकले सदस्य पदमा नियुक्त गरेको डा. पौडेलले जानकारी दिए ।

लामो समयको अन्तरालपछि कार्यकारी निर्देशकमा नियुक्ति पौडेलले आफूले पूर्णकालीनरूपमा अस्पतालमा रहेर सुधारको काम गर्ने बताए ।