भक्तपुर । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले वडा देखि नै समुदायसँग जोडिने कार्यक्रमहरू गर्नु पर्ने बताउनुभएको छ ।
चाँगुनारायण नगरपालिका वडा नम्वर २ को नेपाली काँग्रेसको वडा समितिको कार्यालय उद्घाटन गर्दै उहाँले वडा देखि नै समुदायसँग नेपाली काँग्रेस जोडिने कार्यक्रमहरू गर्नु पर्ने बताउनुभएको हो ।
उहाँले वडा सम्मेलनले वर्ष भरी के के कार्यक्रम गर्ने भनी वडा स्तरमा नै पारित गरी ५० प्रतिशत आन्तरिक कार्यक्रम र ५० प्रतिशत समुदायसँग जोडिने कार्यक्रमहरू तय गर्नु पर्ने बताउनुभयो ।
चाहे हामीले समुदायलाई फाइदा पुग्ने रक्तदान कार्यक्रम होस वा महिलाहरूको सीप विकासका तालिम वा समुदाय सरसफाइ नै किन नहोस् त्यस्ता कार्यक्रम तय गर्नु पर्यो जसले समुदायमा हामी सिधै जोडिन सकौँ ।
यस्तै हामीले निर्वाचनमा निर्वाचित भएका वडा नगर प्रदेशमा नागरिक सम्मेलन वा सार्वजनिक सुनुवाइ या जनप्रतिनिधिसँग साक्षात्कार वडा नगरका बासिन्दासँग जस्ता कार्यक्रम राख्नु जरुरी भएको थापाले बताउनुभयो ।
महामन्त्री थापाले यसरी हामीले नगर वडाका जनप्रतिनिधिहरू सँग वडा नगर बासीको गुनासो दुखेसो तथा राम्रा नराम्रा कामको विषयमा जनतासँग नै सुसूचित हुने मौका पाउने समेत उहाँले बताउनुभएको थियो । जसका कारण हामी प्रति जनताको विश्वास अझ प्रगाढ हुने उहाँको भनाइ थियो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला सभापति एवं प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले चिया पसलमा काँग्रेसलाई गाली गर्ने हरूलाई आउनुहोस् सिधा बहस गरौँ भन्दै उहाँले चुनौती दिनुभयो । आउनुहोस् हामी हामीले निर्वाचित भएका स्थानमा के काम गरेनौ त्यो विषयमा हामी बहस गर्न तयार भएको उहाँले बताउनुभयो । बागमती प्रदेशमा कृष्णलाल भँडेल मन्त्री हुँदा जति कसैले भक्तपुरमा विकास बजेट ल्याउन नसकेको समेत उहाँले बताउनुभयो ।
हाम्रा ठेकेदार भए पनि जसका ठेकेदार भए पनि काम समयमा नसक्नेलाई कालो सूचिमा राख्न हामी आफै लागी पछौं उहाँले भन्नुभयो ।
जनतालाई झुलाउनु हुन्न भन्दै विकास निर्माणका काममा जो ढिला सुस्ती गर्छ उसलाई ठेगान लगाउन सबै एक जुट हुनु पर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य निला सङ्ग्रौला, बागमती प्रदेश सभाका पूर्व मन्त्री कृष्णलाल भँडेल, भक्तपुर क्षेत्र नम्वर १ का सभापति एवं चाँगुनारायण नगर प्रमुख जीवन खत्री, नगर सभापति शिव हरी केसी,लगायतका वक्ताले वडा समितिको कार्यालय उद्घाटनको शुभकामना दिनुभएको थियो । कार्यक्रमको सभापतित्व वडा सभापति रिगेन कार्कीले गर्नुभएको थियो ।