संखुवासभामा स्वास्थ्य इकाइको झ्याल फोरेर सामान चोरी

54

संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिका– ३ स्थित हुङहुङमा रहेको सामुदायिक स्वास्थ्य इकाइको झ्याल फोरेर सामान चोरी भएको छ।

गएराति सामुदायिक स्वास्थ्य इकाइ भवनको पछाडिपट्टि रहेको झ्याल फोरेर कार्यालयभित्र रहेको टेलिभिजन, इन्टरनेटको राउटर, इलेक्ट्रिक जग, राइस कुकर र स्वास्थ्यकर्मीका अन्य उपकरणहरू फुटाएको र केही चोरी गरेर लगेको पाइएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फुर्पु भोटेले जानकारी दिए।

घरभित्र जुत्ताका दुईवटा डाम भेटिएकाले चोरीमा संलग्न दुईजना रहेको अनुमान गरिएको उनको भनाइ छ। घटनास्थलमा प्रहरी टोली आई प्रारम्भिक अध्ययन र अनुसन्धान गरिरहेको स्वास्थ्य शाखा प्रमुख भोटेले बताए।

घटनाको प्रारम्भिक विवरण हेर्दा ६० हजार रुपैयाँभन्दा बढीको क्षति र चोरी भएको देखिएको प्रहरीले जनाएको छ।