भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाले छोरीको घर जेष्ठ नागरिक आश्रम निर्माणको लागी ५० लाख देखि १ करोडसम्म सहयोग गर्ने घोषणा गरेका छन् । चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा रहेको उक्त आश्रम निर्माणको लागी ५० लाख देखि १ करोड बराबरको रकम सहयोग गर्न नगरपालिका तयार रहेको सूर्यविनायक नगरपालिकाका नगरप्रमुख थापाले बताए ।
छोरीको घर जेष्ठ नागरिक आश्रमको लागी जग्गा खरिद गरि भवन निर्माणको लागि सहयोगार्थ ताथलीमा सञ्चालित भक्तपुर, चाँगुनारायण तथा साँस्कृतिक महामहोत्सव एंव ऐतिहासिक श्रीमदभागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञ २०८० मा नगरपालिकाका विभिन्न टोलीसहित सहभागी भएका नगरप्रमुख थापाले सो घोषणा गरेको आयोजकले जनाएको छ ।
महायज्ञमा उपप्रमुख सरिता तिमिल्सिना, वडा नं १ का वडा अध्यक्ष सानुकाजी कायस्थ , २ का प्रदिप कार्की, ३ का दिपेन्द्र केसी, ४ का लक्षुराम केसी, ५ का राजकुमार न्यौपाने र ६ का ईश्वर खड्का, वडा नं ७ का रविन्द्र सापकोटा, ८ का पुष्पराज बस्नेत, ९ का भगवान खत्री र वडा नं १० का शिवराम राउतको पनि सहभागीता रहेको थियो ।
सो अवसरमा नगरप्रमुख थापाले १ लाख १ हजार १११ रुपैयाँ तथा उपप्रमुख तिमिल्सिनाले १५ हजार ५५५ सहयोग गरेकी छन् ।