काठमाडौं । काठमाडौं उपत्यकाका ५ स्थानीय तहले काठमाडौं उपत्यका विकास प्राधिकरणले रोक्का गरेको जग्गाको कित्ताकाट खोल्ने संयुक्त निर्णय गरेका छन् । उपत्यकाको पूर्वी क्षेत्रका नगरपालिकाहरु कागेश्वरी मनोहरा, शंखरापुर, मध्यपुर थिमी, चाँगुनारायण र सूर्यविनायकले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै यस्तो निर्णयको जानकारी गराएका हुन् । उनीहरुले यस्तो जग्गाको कित्ताकाट खुला गर्न शहरी विकास मन्त्रालय र प्राधिकरणलाई अनुरोध गर्ने र नगरेमा कित्ताकाट खुला गरिदिने उल्लेख गरेका हुन् ।
प्राधिकरणले नयाँ शहर निर्माणका लागि भन्दै काठमाडौंको मूलपानी तथा भक्तपुरमा दुई नयाँ शहर निर्माणका लागि भन्दै २०७४ सालमा जग्गाको कित्ताकाट रोक्का गरेको थियो । उक्त स्थान यी ५ नगर क्षेत्रभित्र पर्छ । उक्त आयोजना ४ वर्षभित्र निर्माण सम्पन्न गर्ने भनिए तापनि हालसम्म डीपीआर समेत स्वीकृत हुन सकेको छैन ।
उक्त आयोजना ल्याण्ड पुलिङ प्रणालीमार्फत् गर्नेगरी तग गरिएको थियो । यसमा प्राधिकरणले कायम रहेको जग्गाको १३ प्रतिशत कट्टा गर्ने र सो क्षेत्रमध्ये ५ प्रतिशत खुला ठाउँ र ८ प्रतिशत निर्माणको लागि खर्च गर्ने उल्लेख छ । यस अन्तर्गत प्राधिकरणले विभिन्न चौडाइका सडक, ढल, बिजुलीको व्यवस्था गर्नेगरी तय भएको थियो ।

यस्तो अवस्थामा जग्गाको कित्ताकाट रोक्का भइरहँदा आम जनतामा ठूलो असर परेको भन्दै नगरपालिकाहरुले यस्तो निर्णय गरिएको विज्ञप्तीमा जनाइएको छ । अहिले ती क्षेत्रका जनाताहरु कित्ताकाट नभएको भन्दै दैनिक रुपमा गुनासो गर्न आउने गरेको समेत पाँचवटै नगरपालिकाका प्रमुखहरुद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।