ज्याेति माविद्वारा निबन्ध लेखन प्रतियोगिता : अरनिको मावि प्रथम

66
भक्तपुर । भक्तपुरको ज्याेति माध्यमिक विद्यालयले निबन्ध लेखन प्रतियोगिता गरेकाे छ ।
सूर्यविनायक नगरपालिका वडा नं ७ गुण्डुकाे किबाचाेकस्थित साे विद्यालयले विश्व शिक्षक दिवसको अवसरमा नगरस्तरीय निबन्ध लेखन प्रतियोगिता गरेकाे हाे । विद्यार्थीमा पठन सीप विकास र लेखनकाे सिर्जनशीलता अभिवृद्धि गर्न साे कार्यक्रम आयाेजना गरिएको विद्यालयका प्रधानाध्यापक मिलन कायस्थले बताए ।
निबन्ध लेखन स्पर्धाकाे लागि विद्यार्थीलाई संस्कृति संरक्षणमा विद्यार्थीको भूमिका विषय दिइएको थियाे । साे विषयमा सहभागी विद्यार्थीले डेढ घन्टा लेखन गरेका थिए ।
प्रतियोगितामा सूर्यविनायककाे अरनिको माविका छात्रा निर्जला सतशंकर प्रथम, सिरूटार माविकी छात्रा दिप्ती न्याैपाने द्वितीय र आयाेजक ज्याेति माविकी श्रीजु तामाङ तृतीय भइन् । स्पर्धामा अरनिको माविका मुकेश ठाकुर र गणेश माविका मुकेश ठाकुरले सान्त्वना स्थान हासिल गरेका थिए ।
वुमन फर ह्युमन राइटस सिंगल वुमन ग्रूपकाे प्राविधिक सहयाेगमा सम्पन्न साे प्रतियोगितामा लेखिएका निबन्धहरूकाे मूल्यांकन नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य ईश्वर बुढाथोकी, शिक्षक एवम् स्रष्टा अम्बिका धिताल र स्रष्टा तथा सञ्चारकर्मी हरिसुन्दर छुकनंकाे टाेलीले गरेका थिए ।
प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गरेका विद्यार्थीलाई आगामी २६ गते आयाेजना हुने कार्यक्रममा पुरस्कार प्रदान गर्ने मिति तय गरिएको विद्यालयले जनाएको छ ।