छोरीको घर आश्रम जसरी पनि बन्छ: मेयर खत्री

182

भक्तपुर । छोरीको घर आश्रम निर्माण गर्नको लागि लाख मात्र नभएर करोड–करोड बजेट विनियोजन गर्न तयार रहेको चाँगुनारायण नगरपालिकाका नगरप्रमुख जीवन खत्रीले बताएका छन् ।

चाँगुनारायण नगरपालिका वडा नम्वर ९  ताथलीमा सञ्चालन भएको श्रीमद्भागवत विराट पितृ मुक्ति ज्ञान महायज्ञमा सहभागी भएका नगरप्रमुख खत्रीले उक्त कुरा बताएका हुन ।

ताथलीमा रहेको छोरीको घर ज्येष्ठ नागरिक आश्रमको लागि जमिन खरिद गरी भवन निर्माणमा सहयोगार्थ सञ्चालन भएको उक्त महायज्ञमा सहभागी भएका मेयर खत्रीले भने –“अहिले २० लाख ३० लाख दिन्छु भनेर उक्त रकमले आश्रम नबन्न पनि सक्छ । महायज्ञबाट सङ्कलन भएको रकम मध्यबाट जति रकम अपुग हुन आउँछ नगरपालिकाले दिन तयार छ । ” मेयर खत्रीले भने –“त्यो चाहे ५० लाख होस चाहे १ वा २ करोड नै किन नहोस्?”

आफ्नै कार्यकालमा आश्रम निर्माण गरी सक्ने पनि मेयर खत्रीले बताए । त्यस्तै आश्रमको डिपिआर पनि नगरपालिकाले निःशुल्क गरिदिने उनले बताएका थिए ।

त्यस्तै सम्बोधनकै क्रममा मेयर खत्रीले भने–“मैले जनताको सुख दुःखमा साथ दिने कसम खाएको छु । मैले खाएको कसम पुरा गर्ने कार्यमा साथ दिनको लागि विजय मूर्ति महाराज आएर जोडिनुभएको छ । ढुक्क हुनुहोस् आर्थिक अभावको कारणले आश्रम रोकिँदैन । अवश्य बन्छ । बिचमै छोडेर जान पर्दैन ।”