कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीको शपथग्रहण आज

55

काठमाडौं । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दै छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथग्रहण गराउँदै छन् ।

कोशी प्रदेशमा १० महिनाकै अवधिमा पाँचपटक मुख्यमन्त्री परिवर्तन भइसकेका छन् । यसअघि एमालेका हिक्मतकुमार कार्की र नेपाली कांग्रेसका उद्धव थापा २/२ पटक मुख्यमन्त्री बनेका थिए ।

कोशी प्रदेशको मुख्यमन्त्रीमा कार्की हिजो (शनिबार) नियुक्त भएका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । राजनीतिक समीकरण नै परिवर्तन गरेर कांग्रेस नेता कार्की एमालेको समर्थनमा कोशी प्रदेशको आठौं मुख्यमन्त्री बनेका हुन् ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कार्कीलाई कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कांग्रेसको शेखर कोइराला समूहका ८ र एमालेका ३९ जना गरी ४७ प्रदेशसभा सदस्यको समर्थनमा बिहीबार दाबी पेस गरेका कार्कीलाई प्रदेश प्रमुखले शनिबार मुख्यमन्त्रीमा प्रदेश प्रमुख खापुङले नियुक्त गरे । नियुक्त गर्नुअघि प्रदेश प्रमुख खापुङले प्रदेशसभा सदस्यहरुको हस्ताक्षर सनाखत गराएका थिए ।

कार्कीको पक्षमा बहुमत हस्ताक्षर पुगेपछि मुख्यमन्त्रीमा दाबी गरेका माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो भने सनाखत प्रक्रियामै सहभागी बनेनन् ।