अक्षय कुमारको मिसन रानीगन्ज असफल

47

मुम्बई । बलिउड अभिनेता अक्षय कुमारले आफ्नो पछिल्लो फिल्म ‘मिसन रानीगन्ज’ व्यावसायिकरूपमा अहिलेसम्मकै कमजोर भएको स्विकारेका छन् । सँगै रिलिज भएको अर्को फिल्म ‘फुक्रे–३’ले रिलिज भएको छैटौं दिनमा सिनेमा हलमा ७८ करोडको व्यापार गर्दा अक्षय कुमारको फिल्मको हालत साह्रै खराब रहेको छ । उनको सिनेमा हलमा निकै कम व्यापार गर्ने फिल्मको सूचीमा मिसन रानीगन्ज परेको छ ।

फिल्मले रिलिज भएको ६ दिनमा भारतबाट जम्मा १२ करोड ६० लाख रुपैयाँको मात्र व्यापार गरेको छ । यो फिल्मले प्रदर्शनको छैटौं दिन बुधबार १ दशमलव ५ करोडको मात्रै व्यापार गरेको बक्स अफिस रिपोर्टमा उल्लेख गरिएको छ ।

सिनेमा मिसन रानीगन्जले दर्शकलाई हलसम्म ल्याउन सकेको छैन । छैटौं दिनमा पनि फिल्मले बक्स अफिसमा खासै कमाइ गर्न नसकेपछि अभिनेता अक्षय कुमारले यो फिल्म असफल भएको स्विकारेका छन् ।

सन् १९८९ मा वर्षाको समय पश्चिम बंगालको रानीगन्जको कोइला खानीमा बाढी पसेर थुनिएका कोइला मजदुरलाई खानीबाट निकाल्न जसवंत सिंह गिलले गरेको संघर्षको कथा फिल्ममा उतारिएको छ ।