बडादशैँको टीका लगाउने क्रम आज पनि जारी

52

काठमाडौँ । बडादशैँको आज एकादशी । आज पनि मान्यजनबाट दशैँको टीका तथा जमरा लगाउने क्रम जारी रहेको छ ।

मंगलबार मुख्य दिन विजयादशमीमा टीका लगाउन नभ्याउनेहरूले एकादशीदेखि पूर्णिमासम्मै मान्यजनबाट टीका ग्रहण गरेर आशीर्वाद थाप्ने चलन छ ।

टाढाटाढा जानु पर्ने र माइत, ससुराल तथा मावली टाढा हुनेहरूले कोजाग्रत पूर्णिमासम्म टीका लगाउने परम्परा रहेको हो ।

यद्यपि नेपालको पश्चिमका केही जिल्लामा भने विजया दशमीको एक दिनमात्र टीका थाप्ने चलन छ । अरु भू–भागमा भने दशमीदेखि पूर्णिमाका दिनसम्मै टीका थाप्ने चलन छ ।

बडादशैँ नेपालीहरुको महान् चाड भएकाले हिन्दूधर्मीसँगै बौद्ध धर्मावलम्बीहरूलेसमेत हर्षोल्लासका साथ मनाउने गर्छन् । राष्ट्रिय पर्व भएकाले विदेशी पर्यटकलेसमेत यो पर्वको देखासिकी गर्दै मनाउने गरेका छन् ।

सरकारले सप्तमीदेखि द्धादशीसम्मै सार्वजनिक बिदा दिँदै आएको छ ।