८४ व्यञ्जन अर्पण गर्दै राष्ट्रपतिद्वारा नवदुर्गामा पूजा अर्चना

40

 

भक्तपुर । कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा नवदुर्गा भवानीको पूजा अर्चना गरी टीका, प्रसाद ग्रहण गर्नुभएको छ । प्रथम महिला सविता पौडेलसहित राष्ट्रपति पौडेलले नवदुर्गाको विशेष पूजा गर्नुभएको हो ।

राष्ट्रपतिले नवदुर्गालाई ८४ व्यञ्जन अर्पण गर्दै विशेष पूजा गर्नुभएको हो । साथै उहाँले नवदुर्गा नाचसमेत अवलोकन गर्नुभएको थियो । राष्ट्रपति पौडेललाई रमेश कर्माचार्यले नवदुर्गाको सङ्कल्प पूजा गराउनुभएको थियो । त्यसै गरी नवदुर्गाका मूल नाइके कृष्णकुमार बनमाला, सहायक नाइकेहरू भैलबहादुर बनमाला र इन्द्रबहादुर बनमालाले नवदुर्गाको प्रसाद प्रदान गर्नुभएको थियो । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणको दर्शन समेत गर्नुभएको थियो ।

विगतका वर्षमा नवदुर्गा मन्दिर प्रवेश गरी राष्ट्रप्रमुखले दर्शन गर्ने परम्परा रहेकामा यो वर्ष मन्दिरको प्राङ्गणमा विशेष पूजा गरिएको थियो । मल्लकालदेखि राजाहरूले नवदुर्गाको पूजा आए पनि बिचमा यो परम्परा टुटेको थियो । विसं २०४५ को भूकम्पपछि दैवी प्रकोपबाट देश र जनतालाई जोगाउने विश्वासमा तत्कालीन राष्ट्रप्रमुखले यो पूजालाई निरन्तरता दिँदै आएका छन् ।
नवदुर्गा दर्शनकाका क्रममा बागमती प्रदेशका कृषि तथा पशुपन्छी मन्त्री राजेन्द्रमान श्रेष्ठ, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, किरण थापामगर , देवेन्द्र श्रेष्ठ लगायतका विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।