फ्री भीपीएन प्रयोग गर्ने साढे २ करोड प्रयोगकर्ताको डेटा लिक

26

काठमाडौं । नि:शुल्क चलाउन मिल्ने एउटा भीपीएन एपका साढे दुई कराेड प्रयोगकर्ताको डेटा लिक भएको छ । साइबर सुरक्षासम्बन्धी लेख्ने साइबरन्युजका अनुसार ‘बिन भीपीएन’ (BeanVPN)ले प्रयोगकर्ताको डेटा भएको आफ्नो डेटाबेसमा सार्वजनिक रूपमा पहुँच दिँदा यस्तो घटना भएको हो ।

१८.५ जीबीको उक्त ओपन डेटाबेस हालै आफूले फेला पारेकाे साइबरन्यूजकाे दाबी छ । ठूलो परिमाणमा डेटा चुहावट हुनुको कारण असुरक्षित इलास्टिकसर्च (ElasticSearch) भएको बताइएको छ । यसको अर्थ डेटाबेसलाई असुरक्षित छोडेर जोकोहीलाई भीपीएनको डेटाबेसमा पहुँच दिनु हो ।

बिन भीपीएनको सो डेटाबेसमा प्रयोगकर्ताको आईडी, आईपी एड्रेस, भीपीएन कनेक्सन टाइमस्ट्याम्प लगायतका विवरण भएको बताइएको छ । त्यस्तै चुहावट भएको डेटा अझै पनि खतरामा रहेको चेतावनी दिइएकाे छ ।

गुगल प्ले स्टोरमा मात्र उपलब्ध यस एपमा भएको घटनाबारे अनुसन्धान भइरहेकाे बिन भीपीएनले जानकारी दिएकाे छ । साथै एपलाई प्ले स्टोरबाट लुकाइएको पनि कम्पनीले जनाएकाे छ । कम्पनीको वेबसाइटमा भने अर्को भीपीएनको विज्ञापन देख्न सकिन्छ ।

पछिल्लो समय नि:शुल्क चलाउन मिल्ने भीपीएनहरूबाट थुप्रै पटक डेटा चुहावट भएका घटना बाहिरिएका छन् । हाल नेपालमा सरकारले सामाजिक सञ्जालकाे प्लेटफर्म टिकटकमाथि प्रतिबन्ध लगाउँदा भीपीएन डाउनलोड गर्नेको संख्या बढ्दाे छ । त्यस्तोमा फ्री भीपीएन चलाउँदा सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन् ।टेकपानाको सहयोगमा