नेपालका एचआइभी सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको विषयमा अध्ययन हुने

59

सन्जिब दुलाल

भक्तपुर । एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारका विषयमा अनुसन्धान हुने भएको छ ।

चाँगुनारायण नगरपालिका वडा नम्वर ३ झौखेलमा अवस्थित सुरुवात सामुदायिक उपचार तथा पुनः स्थापना केन्द्रले नेपालका विभिन्न २२ जिल्लाका एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य अधिकारको विषयमा अनुसन्धान गर्न लागेको हो ।

सुरुवातले नेपालका ७ वटै प्रदेश समेट्ने गरी २२ जिल्लाका १६ देखि ४५ वर्ष उमेरका आदिवासी जनजाति महिलाबारे अनुसन्धान गर्ने भएको छ ।

नेपालमा एचआइभी एड्सको क्षेत्रमा धेरै अध्ययन अनुसन्धान भए पनि आदिवासी जनजातिको क्षेत्रमा अहिलेसम्म कुनै अध्ययन नभएको सुरुवातका कार्यकारी प्रमुख राजेश दिदियाले बताउनुभयो । उहाँका अनुसार एक त आदिवासी जनजाति भनेपछि त्यसै पनि पिछडिएका वर्गमा पर्छन् त्यो माथि एचआइभी एड्स सङ्क्रमित भएका महिलाहरूको अवस्था कस्तो होला यो हाम्रो कल्पना भन्दा पनि बाहिरको कुरा हो ।

नेपाली परिवेशमा उच्च घरानाकाहरुलाई नै पनि एचआइभी एड्स सङ्क्रमित भएको भन्ने थाह भएमा समाज देखि स्वास्थ्य संस्था सम्म गरिने व्यवहार राम्रो छैन त्यो माथि आदिवासी जनजाति महिलाहरूको यौन तथा प्रजनन स्वास्थ्यको विषय कस्तो होला । जुन हाम्रो कल्पना बाहिरको कुरा हो ।

हामीले विगत दुई वर्ष देखि नै यो विषयमा अध्ययन गर्दै आएका छौँ । हामीले अध्ययनको पहिलो फेजका रूपमा सरकारी तवरका डाटा तथा विभिन्न जर्नलहरूको अध्ययन गर्ने काम गर्‍यो तर आदिवासी जनजाति महिलाहरूको विषयमा कुनै जानकारी पाउन सकेको अवस्था भने छैन ।

अव सुरुवातले सात प्रदेशमा प्रत्येक प्रदेशका हिमाल पहाड तराई गरी तीन तीन जिल्ला गरी २१ जिल्ला र काठमाडौँ सबैको केन्द्र भएका कारण यो समेत थप गरी २२ जिल्लाका आदिवासी जनजाति महिलाको यौन तथा प्रजनन स्वास्थ्यको विषयमा अध्ययन गर्न लागेको दिदियाले जानकारी दिनुभयो । यस्तै अनुसन्धानपछि सङ्क्रमित महिला तथा युवतीको लागि उपचार तथा पुनः स्थापनाका कार्यक्रम अघि बढाउने उहाँले जानकारी दिनुभएको थियो । एचआइभी एड्स सङ्क्रमण भएर एन्टी रेट्रोभाइरल थेरापी (एआरटी) मा सूचीकृत महिला तथा युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्य र अन्य अधिकारको अवस्था पहिचान गर्ने उद्देश्यले उक्त अनुसन्धान गर्न लागेको दिदियाले बताउनुभयो ।

उक्त अनुसन्धान प्रतिवेदनको आधारमा एचआइभी एड्स सङ्क्रमित आदिवासी जनजाति महिला तथा युवती लक्षित कार्यक्रमसमेत अघि बढाइने उहाँले जानकारी दिनुभयो  ।

 

क्यानडास्थित कम्युनिटिज एलाइन्स एन्ड नेटवर्क (क्यान) को सहयोगमा  हुने दिदियाले जानकारी दिनुभयो ।

एचआइभी सङ्क्रमित भई सकेपछि यौन तथा प्रजनन स्वास्थ्यको सवालमा अध्ययन नेपालमा भएको छैन जसका कारण उनीहरूलाई के आवश्यक छ भन्ने विषयमा पनि कसैलाई केही थाह छैन सोही कुरा उजागर गर्न आदिवासी जनजाति महिलाहरूको सवालमा अध्ययन गर्न लागेको  सुरुवातका कार्यक्रम अधिकृत अनुप अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार अध्ययनको मुख्य उद्देश्य भनेको नै मानिस यौनिक प्राणी हो एचआइभी एड्स सङ्क्रमित भए पनि उनीहरूको यौनिक इच्छा तथा अवस्था के छ भन्ने विषयमा क्वालिटेटिभ स्टडी गर्ने हो । उहाँले अनुसन्धानले समग्र एचआइभी सङ्क्रमित महिला, युवती र बालिकालाई समेट्ने बताउनुभयो ।

अध्ययन एचआइभी संक्रमति आदिवासी तथा जनजाति महिला र युवतीहरूको यौन तथा प्रजनन स्वास्थ्यको अवस्था उजागर गर्ने उद्देश्यका साथ हुन लागेको छ । यस्तो अनुसन्धान नेपालसँगै भारत, क्यानडा, पेरु, ग्वाटेमाला, नाइजेरिया र न्युजिल्याण्डमा एकै पटक सुरु हुन लागेको हो ।