जनकपुर । सप्ताहव्यापी रुपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आजबाट विधिवत सुरु भएको छ ।
आज पहिलो दिन नगर दर्शन विधि गरिने छ भने भोली दोस्रो दिन फूलवारी लिला मनाइन्छ । त्यस्तै पर्सी तेस्रो दिन धनुषा यज्ञ गरिन्छ चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठ एव विवाहपञ्चमीको मूल दिन स्वयम्बर र शुभ विवाह र सातौँ दिन राम कलेवा गरिन्छ ।
राम कलेवामा जनतीको रुपमा अयोध्याबाट आएका साधु सन्तहरुलाई ५६ व्यञ्जन खुवाई विदाई गरीन्छ।
प्राचीन मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी मनाइने गरिन्छ। विवाहपञ्चमी हेर्न नेपालसहित भारतबाट लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन्।
प्राचिनकालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथको जेठा छोरा रामसँग भएको स्मरणमा विवाहपञ्चमी मनाइने गरिन्छ।
विवाहपञ्चमीलाई मध्येनजर गर्दै जानकी मन्दिर दूलही झैं सजाइएको छ ।