ढुंगा हानेर पहिचानवादी भइँदैनः मुख्यमन्त्री कार्की

57

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मान्छेलाई खेदेर र ढुंगा हानेर पहिचानवादी हुन नसकिने बताएका छन् । आज (मंगलबार) झापाको दमकमा आयोजित लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियान शुभारम्भ गर्दै उनले जातजाति, भाषाभाषी, संस्कृति, रीतिरिवाजको संरक्षण र संवर्द्धन गरेरमात्रै पहिचानलाई स्थापित गराउन सकिने बताएका हुन् ।

पहिचानवादीहरुले कार्यक्रमस्थल जाने क्रममा मुख्यमन्त्री कार्की सवार गाडी तोडफोडको प्रयास गरेका थिए । साथै, उनीहरुले मुख्यमन्त्री कार्कीलाई कालो झण्डा देखाउँदै विरोध प्रदर्शनसमेत गरेका थिए ।

मुख्यमन्त्री कार्कीले जातजाति, भाषाभाषी, संस्कृति, रीतिरिवाजको संरक्षण र संवर्द्धन गरेरमात्रै पहिचान स्थापित गर्न सकिने बताउँदै त्यसतर्फ लाग्न आग्रह गरे । अहिले राईलाई राई भाषा नआउने, लिम्बुलाई लिम्बु भाषा नआउने अवस्था रहेको बताउँदै उनले यस्ता प्रकारका समस्या समाधानका लागि मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताए ।

लागूऔषध नियन्त्रण, रोकथाम, सचेतना र उपचार अभियानलाई ब्यापक बनाइनु पर्ने उनको भनाइ छ । कोशी प्रदेश सरकार संस्कारयुक्त समाज निर्माण गर्ने कुरामा सधैं तत्पर रहेको पनि उनले बताए । लागूऔषध प्रयोगकर्तालाई समाजमा पुनर्स्थापित गर्न र यसका लतमा लाग्न नदिनका लागि सबैको सहयोग आवश्यक रहेको उनको भनाइ छ ।