महालक्ष्मी ९ का २३० जना ज्येष्ठ नागरिकलाई लौरो, दोसल्ला र नगदसहित सम्मान 

84
ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ९ लामा टारका ७५ वर्ष नाघेका २३० जना ज्येष्ठ नागरिकहरूलाई बुढेसकालको सहारा एक-एकवटा ‘लौरो’ दिँदै फूलको माला लगाएर न्यानो दोसल्ला ओढाई गाडी भाडा दिएर आइतबार सम्मान गरिएको छ ।
बागमती प्रदेशका उद्योग,वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकार, बागमती प्रदेशका सांसद रामेश्वर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख हरि गोविन्द श्रेष्ठ, उपप्रमुख लक्ष्मी महर्जन, वडाध्यक्ष जयकृष्ण बोगटीलगायतले ज्येष्ठ नागरिकहरूलाई न्यानो दोसल्ला ओढाई, बुढेसकालको सहारा ‘लौरो’ दिएर फूलको माला लगाई यातायात खर्चसमेत दिएर सम्मान गरेका थिए ।
त्यसो त ती ज्येष्ठ नागरिकहरूलाई सम्मानको लागि वडा कार्यालयले दुई वटा बस पठाएर उहाँहरूको घरदेखि सम्मान स्थल अर्थात् वडा कार्यालय प्राङ्गणमा ल्याएको थियो ।
वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीका अनुसार वडा कार्यालयले स्थानीय भ्याली पब्लिक स्कुलको एउटा बसले गहते, तीनचल, ठकुरी गाउँ, सिस्नेरी, ढुंगिन, घिमीरेचोक र आसपासका ज्येष्ठ नागरिकहरूलाई र विद्या पुञ्ज स्कुलको अर्को बसले आरु बोट, गणेश स्थान, डाँडा थोक, लुभु, पानीट्यांकी, भुजुंगेका स्थानीय ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रम स्थलसम्म ल्याउने र कार्यक्रम सकिएपछि घरसम्म पुर्‍याउने व्यवस्था मिलाएको थियो ।
‘ज्येष्ठ नागरिक बोझ होइनन्, उहाँहरू ज्युँदो इतिहास हो, उहाँहरूलाई मान सम्मान र आदरका साथ घरपरिवार र समाजमा सम्मान गर्नु सबैको दायित्व हो भन्ने सन्देश फैलाउन’ वडा कार्यालयले पहिलो पटक बडाभरिका ७५ वर्ष उमेर नाघेका २३० जनालाई सम्मान गरिएको वडाध्यक्ष बोगटीले बताए ।
त्यसो त २०७९ सालमा भएको स्थानीय निकायको निर्वाचन अघि वडाध्यक्षका उम्मेदवार रहेका बोगटीले वडाका ज्येष्ठ नागरिकको अधिकार,मान सम्मान र स्वास्थ्य सुदृढीकरण गर्नु आफ्नो पहिलो दायित्व भएको बताएका थिए ।
निर्वाचन जितेको ठिक २० महिनापछि उनको नेतृत्वमा रहेको वडा कार्यालयले आइतबार वृहत् सम्मान कार्यक्रम राखी २३० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
‘कार्यक्रम स्थलमा आउनुभएका १५० जनालाई आज सम्मान गरियो, बिरामी र शारीरिक अशक्तताका कारण आउन नसक्नुभएका बाआमालाई हामी घरघरमै गएर सम्मान गर्नेछौ’— वडाध्यक्ष बोगटीले भने ।
वडा सदस्य शशीधर पोखरेले वडामा रहेका सबै ज्येष्ठ नागरिक र शारीरिक अपाङ्गता भएकाहरू सबैलाई वडा कार्यालयले सहज रूपमा सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको बताए । वडाले त्यस्ता नागरिकहरूको निःशुल्क स्वास्थ्य सेवाको लागि घरदैलोमै स्वास्थ्यकर्मी लगेर उपचार र औषधि सेवा पनि दिँदै आएको छ ।
महालक्ष्मी नगरपालिकाले आर्थिक वर्ष २०८०-०८१ मा विनियोजन गरेको बजेटबाट उहाँहरूलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष बोगटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा मन्त्री चित्रकार, सांसद श्रेष्ठ, नगरप्रमुख श्रेष्ठ, उपप्रमुख महर्जनको साथै राष्ट्रिय योजना आयोगका पूर्व सदस्य चम्पक पोखरेल, बागमती प्रदेशका पूर्व सांसद माधव पौडेल,सो वडाका वडा सदस्य शशीधर पोखरेल,वडा सचिव नारायण श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका कानुनी सल्लाहकार सुशील पोखरेल, लामाटार गाविसका पूर्व अध्यक्ष तथा ९ नं वडाका सल्लाहकार गङ्गाप्रसाद न्यौपानेलगायतका वक्ताहरूले आइतबार आयोजना गरिएको ‘वृहत् सम्मान कार्यक्रमले ज्येष्ठ नागरिकहरूलाई जीवित अवस्थामै सम्मान गर्नुपर्छ’ भन्ने सन्देश दिएको बताए ।
लामाटार गाविसका ९ वटा वडालाई गाभेर अहिले महालक्ष्मी नगरपालिकाको एउटै वडा अर्थात् वडा नं ९ बनाइएको हो ।