बाँकेको बाल सुधार गृहमा झडप

40

रुपन्देही । बाँकेको नौबस्तामा रहेको बाल सुधार गृहमा झडप भएको छ । क्षेत्रीय कारागारमा सञ्चालित बाल सुधार गृहमा बालबन्दीबीच विवादपछि भएको झडपमा एक जना घाइते भएका छन् ।

सो घटनामा एक सरकारी गाडी तोडफोड गरिएको छ । डुडुवामा रहेको बाल सुधार गृहबाट ल्याइएका १८ वर्ष माथिका बालबन्दीहरुबीच विवाद सुरु भएपछि झडपको आवस्थामा पुगेको हो । नौबस्ता बाल सुधार गृहमा एक सय १६ जना बालबन्दी रहेका छन्। आइतबार दिउँसो दुई पक्षका बीचमा भएको झडपमा असिम रावल घाइते भएका छन्। उनलाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको छ ।

बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी र कारागार प्रशासनको गाडी तोडफोड भएको बताइएको छ। झडपका क्रममा आधा दर्जन बन्दी भागेको आँकलन गरिएपनि सबै तथ्यांक आएको छैन ।

बाँकेका प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बालबन्दीका बीचमा झडप भएको वरिपरि ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ गरिएको साथै बालबन्दीसँग वार्ताको प्रयास भइरहेको बताए ।

डुडुवास्थित सुधारगृहमा झगडा गरेका दुई समूहबीच पुनः झगडा सुरु भएको नौबस्ता क्षेत्रीय कारागारका जेलर श्याम रानाले बताए । गत असोज ४ गते राति बाँकेको डुडुवामा बालबन्दीका बीचमा आपसमा झडप हुँदा एक जनाको मृत्यु भएको थियो भने ११ जना घाइते भएका थिए ।