स्वास्थ्य शिविरसहित सिम्रिक सहकारीको१४ औं साधारण सभा

75
भक्तपुर । भक्तपुरको ताथलीस्थित सिम्रिक बचत तथा ऋण सहकारी संस्था लि. ले स्वास्थ्य शिविरसहित १४ औं साधारण सभा सम्पन्न भएकाे छ ।
चाँगुनारायण नगरपालिका वडा नं ९ मा रहेकाे साे सहकारीको साधारणसभा तथा स्वास्थ्य शिविर सुर्यविनायक गणेश मन्दिर परिसरमा भएकाे हाे । स्वास्थ्य शिविरका लागि नेशनल बाथरोग सेन्टरले प्राविधिक सहयाेग गरेकाे थियाे ।
साे सभाको उद्घाटन चाँगुनारायण नगरपालिका वडा नं ९ का वडा अध्यक्ष गणेश त्यातले गरेका थिए ।
कार्यक्रममा उनले नाफाको पछि लाग्ने स्वभावका सञ्चालक रहेका सहकारीले समुदायमा आधारित क्रियाकलाप नगर्दा समुदायमा आधारित सहकारीसमेत बदनाम हुनु विडम्बना रहेकाे बताए ।
उनले पछिल्लो समयमा स्थानीय तहहरूमा बहुउद्देश्यीय सहकारीकाे संख्या बढेकाे उल्लेख गर्दै स्थानीय व्यक्तिको सक्रियतामा मात्र सञ्चालित सहकारीमा बचत गर्न अनुराेध गरे । वडा अध्यक्ष त्यातले साे अवसरमा सहकारीका उत्कृष्ट बचतकर्ता र ऋणीलाई सम्मान गरेका थिए ।
कार्यक्रममा मासिक असल बचतकर्ता सम्मानबाट श्यामु बस्नेत, सामुहिक जमानी ऋणतर्फ उत्कृष्ट ऋणी सम्मानबाट मनहरि बस्नेत, धन जमानी ऋणतर्फ उत्कृष्ट ऋणी सम्मानबाट पुस्कर खत्री, उत्कृष्ट बाल बचत सम्मानबाट प्राश्ना न्हेम्हाफुकी र उत्कृष्ट द‌निक बचत सम्मानबाट राजु बाला सम्मान भएका छन् ।
कार्यक्रममा सयपत्री साकाेसका अध्यक्ष हरिगाेपाल बासुकला तथा प्रगति युवा समाजका सचिव रविन्द्र न्हेम्हाफुकीले सहकारीले वित्तीय अनुशासन कायम गरी समुदायका लागि काम गर्न सके सहकारी सिद्धान्तअनुसार काम हुने उल्लेख गर्दै शुभकामना दिए ।
ताथलीकाे तैकाबु गणेश सांस्कृतिक समूहकाे सांस्कृतिक प्रस्तुतिका साथ भएको कार्यक्रममा सहकारीका सचिव हरिसुन्दर छुकां, काेषाध्यक्ष अर्जुन सुवेदी, ऋण उपसमिति संयाेजक उत्तम साखकर्मी तथा लेखा समिति सदस्य घनश्याम खड्काले प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सहकारीका अध्यक्ष रमेश न्हेम्हाफुकीकाे सभापतित्वमा सम्पन्न साे सभामा उनले सहकारीलाई थप समुदायमैत्री बनाउने प्रतिवद्दता जनाएका थिए । वि. सं. २०६७ सालमा स्थापति साे सहकारीमा ५९४ सदस्य रहेका छन् भने आ. व. २०७९/८० मा ७२ लाख ३४ हजार शेयर पूँजी भएको छ । सहकारीले साेही आर्थिक वर्षमा ३ कराेड ७ लाख ५८ हजार बचत संकलन गरि ३ कराेड ७३ लाख ३८ हजार रूपैयाँ ऋण लगानी गरेको छ ।