मौन अवधि उल्लंघनको विषयमा मोरङका सीडीओलाई काट्यो आयोगले पत्र

56

काठमाडौँ । निर्वाचन आयोगले मौन अवधि सुरु भइसकेको समयमा मोरङको विराटनगरमा राष्ट्रियसभा निर्वाचनको प्रचारप्रसार भएको जानकारी आएको भन्दै मोरङका प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई २४ घण्टे पत्र काट्दै प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई आचारसंहिता उलङ्घन भए/नभएको बारेमा बुझेर प्रतिवेदन पेस गर्न भनिएको जानकारी दिए।

मौन अवधिका बीच पनि केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको सूचना प्राप्त भएपछि आयोगले सीडीओलाई प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो ।

बिहीबार हुने निर्वाचनका लागि आयोगले माघ ८ गते राति १२ बजेपछि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलको भ्रातृ संगठन वा अन्य व्यक्ति तथा संघ संगठनले पालना गर्नुपर्ने विशेष आचरण जारी गरेको थियो ।

जसअनुसार उक्त अवधिमा राष्ट्रियसभा सदस्य निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने व्यवस्था भए पनि सो विपरीत हुने गरी मोरङको विराटनगरमा केही राजनीतिक दलले निर्वाचन प्रचारप्रसारका गतिविधि गरेको भन्ने जानकारी विभिन्न माध्यमबाट आयोगमा प्राप्त हुन आएको आयोगको पत्रमा उल्लेख छ ।

‘यस सम्बन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरितको कार्य भएको हो वा होइन? सत्य तथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेस गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ’, पौडेलद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।