भक्तपुर अस्पताल प्रमुखमा तेस्रो पटक डाक्टर सुमित्रा गौतम

62

विकास प्रहर , भक्तपुर ।भक्तपुर अस्पताल प्रमुखमा तेस्रो पटक डाक्टर सुमित्रा गौतम नियुक्त भएकी छन्। भक्तपुर अस्पताल प्रदेश अस्पतालका रूपमा सञ्चालन भए देखिनै नेपालकै उत्कृष्ट अस्पताल बनाउन सफल मेसु डा. गौतम राजनीतिक आडमा सरुवा हुँदै आएकी थिइन्। पछिल्लो पटक सङ्घ अन्तरगतको अस्पताल प्रसूति गृहमा सरुवा गरिएको थियो।

आफूले राम्रो गर्दा गर्दै पनि गौतमलाई फनफनी घुमाई दिँदा भक्तपुर अस्पतालमा बेतिथि बढेर बिरामीहरूले समस्या झेल्नु परेको थियो। एकताका रिफर सेन्टरको रूपमा रहेको  अस्पताललाई मेसु डा। गौतमले व्यवस्थित गरेकी थिइन्।

सय वर्ष भन्दा बढी समय आफैँ बिरामी जस्तो भएर आइसियु कुर्दै बसेको अस्पतालमा आइसियुको व्यवस्था गरिन्। अक्सिजनको अभावले बिरामीहरू मर्नु पर्ने अवस्थाको अन्त्य गर्दै अक्सिजन प्लान्टको व्यवस्था गरिदिइन्।

सय वर्ष भन्दा बढी मुर्दा घरमा आइस नहुँदा हप्ता दिनसम्म लास गन्हाएर वरिपरिका बासिन्दाले खेप्नु परेको समस्यालाई हल गर्न डा। गौतमले मुर्दा घरमा आइसको व्यवस्था गरिदिइन्।

अस्पतालबाट दिइने स्वास्थ्य सेवा वृद्धि गरी डाक्टरको व्यवस्था गरिदिइन्। भक्तपुर अस्पतालमा वर्षामा पानी चुहिएर सास्ती हुने गरेकोले उनकै कार्यकालमा अस्पतालको भव्य भवन निर्माण गरेकी छन्। उनले अस्पतालको आफ्नै औषधि पसल पनि सञ्चालन गरेकी छन्।

मेसु र लेखा अधिकृत बिच कुरा नमिल्दा ठेक्का लगाउन पनि नसकेर बजेट फ्रिज हुने अस्पतालमा डा। गौतम आएपछि कर्मचारीमा समन्वय गराउन पनि सफल देखिन्छिन्। रिफर सेन्टरको रूपमा रहेको अस्पताललाई गौतमले थामी नसक्नुको बिरामीको चाप हुने अस्पतालको रूपमा परिचित गराएकी छन्।

बिरामीको चाप व्यवस्थित गर्न टोकन सिस्टमको व्यवस्था गरिदिएकी छन्। विश्व कोभिड १९ को महामारीले आक्रान्त हुँदा भक्तपुर बासीलाई जोगाउन महत्त्वपूर्ण भूमिका खेलेर भक्तपुर बासीको वाह वाही पाएकी डाक्टर गौतम तेस्रो पटक भक्तपुर अस्पतालको प्रमुख भएर आएकी छन्।