ल्होसार अर्थात् ‘ल्हो’ भन्नाले साल अथवा संवत् अनि ‘छार’ भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात्, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो । तामाङ समुदायमा यो दिन हर्षोल्लास मनाउँछन् । त्यसमा पनि नेपाल बहु जातीय, बहु सांस्कृतिक, बहु धार्मिक र बहुभाषिक विशेषता बोक्ने मुलुक हो ।
पहिले उहिले पात्रोको चलन नहुँदा तामाङ समुदायमा १२ वर्षको अवधिलाई १२ पशु–पन्छी वर्षका रूपमा आत्मसात् गर्दै समयको मापन गर्दथे । घडीको साटो आकाशमा सूर्यको गति र अवस्था हेरेर समय र काल चाल पाउँथे । त्यसै बेलादेखि ल्होसार मनाउने परापूर्व आधारहरू खडा भएका हुन् ।
तामाङ समुदायबारे लेखिएका पुस्तकहरू अनि शोधहरू अध्ययन गर्दा ‘ता’ भन्नाले घोडा अनि ‘माङ’ भन्नाले लडाकुहरू भन्ने बुझिन्छ । यसर्थ, साहसीहरूको समुदाय तामाङहरू वास्तवमै आफ्नो साहस, वीरता अनि रण कौशलताका लागि नेपालमा मात्र नभई संसारभरि चिनिन्छन् । ‘ल्होसार’ शब्द ‘ल्हो’ अर्थात् वर्ष वा साल र ‘छार’ वा ‘सार’ अर्थात् नयाँ भन्ने दुई शब्द मिलेर बनेको छ ।
यस दिन तामाङ समुदायले विशेष परम्परागत अनि सांस्कृतिक महत्त्वका साथ ल्होसार मनाउँछन् । यसरी नेपालको पहाडी र उच्च पहाडी भेगमा बसोबास गर्ने तामाङ समुदाय लगायत उत्तर छिमेकी मूलक चीनसहितका बौद्धमार्गीहरु को घनत्व रहेको क्षेत्रमा पनि आजको दिनलाई हर्ष बढाई गर्दै नयाँ वर्ष मनाउने गर्छन् ।
तामाङहरूलाई प्रकृति प्रेमी समुदायका रूपमा पनि चिनिन्छन् । विशेष गरी नेपालमा तामाङ जातिले सोनाम ल्होसारका अवसरमा कूल पूजा र प्रकृतिको पूजा गर्ने गर्छन् । यस समुदायमा आज छोरी–चेलीलाई बोलाएर टिका लगाइदिने गरिन्छ ।
सोनाम ल्होसार राष्ट्रिय पर्व भएका कारण राष्ट्र प्रमुखदेखि अन्य विशिष्ट ओहोदाका व्यक्तिहरूले समेत शुभकामना सन्देश दिने चलन छ । ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ । मुसाबाट शुरु हुने वर्षहरू बँदेल वर्षमा पुगेर सकिन्छ ।
नेपालमा ल्होसार मनाउने प्रचलन चीन तथा चीन प्रशासित तिब्बतमा मनाइने पर्वसँग मिल्दोजुल्दो छ । चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समुदायले चिनियाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्छन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार, तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङका अलावा अतिरिक्त यो पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँछन् ।
गुरुङले मनाउने ल्होसारलाई ‘तोला ल्होसार’, तामाङ लगायतका जातिले मनाउनेलाई ‘सोनाम ल्होसार’, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होसारलाई ग्याल्पो ल्होसार भनिन्छ । सोनाम ल्होसार पर्व तामाङ जातीहरू पुगेका नेपालसहितका अन्य मुलुकहरू सिङ्घापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस्, म्यानमार, जापान लगायतका देशमा मनाइँदै आएको छ ।
आजको दिन यी देशहरूका अधिकांश बौद्ध–विहारहरू उल्लासमय हुन्छन् । रङ्गिन सजावटका ध्वजा पताका अनि पुष्पद्वार लगायत अन्य मनमोहक सजावटले आज बौद्ध–विहार बडो आकर्षक देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली बौद्ध–विहारहरूमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्छ र असीम आनन्दको अनुभूति गराउँछ ।
आज माघ शुक्ल प्रतिपदा भएकाले यस संवत् अनुरूप भने सोनाम ल्होसार हो । ल्होसारको महिनाभरि सबैलाई शुभकामना छ ।
सोनाम ल्होसारका अवसरमा घर बस्तीहरू सफा गरी बुद्धका चित्रहरू अङ्कित ध्वजापताकाहरू टाँगेर बुद्धको पूजा अर्चना गरिन्छ । कतिपय ठाउँ र गाउँमा लामा र मुखियाको उपस्थितिमा सबै जना एकै ठाउँमा भेला भई नाच–गानसहित रमाइलो पनि गरिन्छ । यसरी गाइने अनि नाचिने गीतहरूलाई ‘तामाङ सेलो’ भनिन्छ । सुस्तरी तर बडो मधुर रूपमा गाइने सेलोका भाकामा डाँडा पाखा, कन्दरा अनि दैनिक जीवन भोगाई लगायत माया–प्रेमका भावनाहरू पनि समावेश हुन्छ ।
डम्फु चाहिँ यस समुदायको हस्ताक्षर बाजा हो । डम्फु अनि सेलोको सुमधुर मिश्रण मनमोहक हुन्छ । धेरैजसो यस्ता सामुदायिक कार्यक्रमहरू खुला आकाशमुनि गरिन्छ । उनीहरू परम्परागत तामाङ पहिरनमा सजिन्छन् । उनीहरू अरू समुदाय अनि सबै धर्मका व्यक्तिहरूलाई खुल्ला हृदयले स्वागत गर्छन् ।
नकारात्मक तत्त्व हटाउन, आशा जगाउने सकारात्मकपन र शक्ति डाँक्न तान्त्रिक विधिअनुरूप नृत्य पनि गरिन्छ ।
लामाहरूसँग आशिष् लिएर आजको दिन वर्षभरिका लागि शुभ साइतको अपेक्षा राखिन्छ । काठमाण्डौमा टुँडिखेलबाट र्याली र महोत्सव समेत गरिन्छ । महोत्सवमा तामाङ समुदायमा प्रचलित खाना, कला–संस्कृति र भेष भूषाको पनि प्रदर्शन गरिन्छन् । यसरी विभिन्न कार्यक्रम लगायत मेलाहरू आयोजना गरिँदै अनि शुभकामना आदान–प्रदान गर्दै तामाङ समुदायले सैयौं वर्ष पुरानो आफ्नो संस्कार अनि पहिचानलाई पुस्तौँ पुस्तासम्म सफलतापूर्वक कायम राख्दै आएका छन् ।
सुँगुर, हाँस, कुखुरा, खसी लगायतका विभिन्न परिकारका मासुहरू तयार पार्दै विशेष उत्सवमा विभिन्न गुलिया मिठाईहरू बनाएर आजको दिन घरघरमा भोज गर्ने अनि आफन्त भेट्ने चलन छ । समुदायका सबै जना एकै ठाउँमा भेला हुँदै सामूहिक रूपमा चाडबाड मनाइन्छ । अनि सरल, सभ्य रूपमा मिलनसार शैलीको सन्देश दिन तामाङ समुदायहरू वास्तवमै एउटा अनुकरणीय मानिन्छन् ।