चाँगुनारायण नगरपालिकाका विपद् व्यवस्थापन स्वयंसेवकहरूलाई प्रथम उद्धारकर्ता प्रशिक्षण सुरु 

74
खरिपाटी, भक्तपुर ।
चाँगुनारायण नगरपालिकाले वडा स्तरीय विपद् व्यवस्थापन समिति अन्तर्गत रहेर विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्नको लागि समुदायमै तालिम प्राप्त स्वयंसेवकहरू तयार गर्ने कार्यलाई निरन्तरता दिँदै ३ दिने प्रथम उद्धारकर्ता प्रशिक्षण ९ँष्चकत च्भकउयलमभच त्चबष्लष्लन० सञ्चालन गरिरहेकोछ ।
चाँगुनारायण नगरपालिका वडा नं ४, ५ र ६ का स्वयंसेवकहरूको लागि सञ्चालित प्रशिक्षणको उद्घाटन गर्नुहुँदै चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीले विपद् उत्थानशील चाँगुनारायण बनाउने उद्देश्यका साथ  नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका कार्यहरू गर्दै आइरहेको बताउनुभयो । उहाँले विपद्को अवस्थामा तत्काल प्रतिकार्य गर्ने भनेको समुदायका मानिसहरुनै हुने भएकाले समुदायका मानिसहरूलाई प्राथमिक उपचार, खोज तथा उद्धारका ज्ञान र सिप प्रदान गरी तयारी अवस्थामा राख्नको लागि नगरपालिकाले प्रथम उद्धारकर्ता प्रशिक्षण सञ्चालन गरेको बताउनुभयो ।
सरकारी र निजी क्षेत्रको साझेदारी र सहकार्य तथा समुदायको अग्रसरतामा मात्रै विपद् उत्थानशील समुदाय निर्माण गर्न सकिने भएकाले यस तर्फ नगरपालिका लागिपरेको नगर प्रमुख खत्रीले जानकारी दिनु भयो । अहिलेको अवस्थामा आगलागी तथा बन डँडेलोका घटनाहरू भइरहेकाले यस तर्फ समुदायमा मानिसहरू सचेत हुन आग्रह गर्दै आगलागी सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने तर्फ लाग्नुहुन नगर प्रमुख खत्रीले सहभागी स्वयंसेवकहरूलाई अनुरोध गर्नुभयो ।
चाँगुनारायण नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन समितिकी सदस्य निर्मला के.सीले विपद् जुनसुकै बेलामा आउन सक्ने भएकोले सम्भावित क्षति न्यूनीकरणका लागि पूर्वतयारीका गतिविधिहरू सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले नगरपालिको समावेशिताको सिद्धान्तलाई अवलम्बन गर्दै प्रत्येक समुदायका सबै वर्गलाई समावेश गरी कार्यक्रमहरू सञ्चालन गरिरहेको बताउनुभयो ।
प्रशिक्षणमा चाँगुनारायण नगरपालिकाले विपद् व्यवस्थापनका क्षेत्रमा गरेका प्रगति र प्रयासहरू , खोज तथा उद्धारको परिचय, खतराको प्रकार र यसका विशेषताहरू, खोज तथा उद्धारको संरचना र टोली निर्माण, खोज तथा उद्धारका उपकरणहरू सुरक्षित र सुरक्षा, घटना आदेश प्रणाली, आधारभूत खोज विधि, सञ्चार, समन्वय र प्रतिवेदन, आगोजन्य आपत्काल, उद्धारमा डोरीको प्रयोग अभ्यास, बाढी, पहिरो र भूकम्पको अवस्थामा बाहिर निकाल्ने तरिका अभ्यास, प्राथमिक उपचार परिचय, उद्देश्य र सिद्धान्त, प्राथमिक उपचारका चार चरणहरू, श्वासप्रश्वास समस्या (सी.प.पिआर), रक्तस्रावको प्राथमिक उपचार, भँचाईकन प्राथमिक उपचार, घाइतेको ओसारपसारजस्ता विषयहरूका बारेमा सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइनेछ ।
चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, विपद् प्रतिकार्य योजना, मनसुन प्रतिकार्य योजना, विपद् जोखिम न्यूनीकरण रणनीतिक कार्य योजना लगायतका आवश्यक ऐन, नीति, नियम, निर्देशिका, योजनाहरू तयार गर्नुका साथै खुल्ला स्थानको पहिचान, जोखिम क्षेत्रको नक्सा, खोज उद्धार सामग्रीको भण्डारण, नगरपालिका तथा वडामा विपद् व्यवस्थापन समितिको गठन,विद्यालय तथा समुदायमा विपद् जोखिम न्यूनीकरण सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण, विपद् जोखिम न्यूनीकरण सम्बन्धी सञ्चार कर्मीहरूसँग कार्यशाला, भूकम्प सुरक्षा दिवस मनाउने लगायतका गतिविधिहरू सञ्चालन गदै आइरहेको भने आइसेट नेपाल र भूकम्प प्रविधि राष्ट्रिय समाजन नेपालसँग सहकार्य गरी समुदाय तथा विद्यालयमा विद्यालय सुरक्षा कार्यक्रम पनि सञ्चालन गरिरहेकोछ । यसै गरी नगरपालिकाले स्थानीय विपद् प्रतिकार्य ढाँचा तयारी, भूकम्पीय सुरक्षा सम्बन्धी कृत्रिम घटना अभ्यासको सञ्चालन, वडा स्तरमा आगलागी नियन्त्रण सम्बन्धी अभिमुखीकरण र अभ्यास प्रदर्शन, सडक सुरक्षा लगायतका गतिविधिहरू पनि सञ्चालन गर्दैछ ।
तीन दिन सम्म संचाल हुने प्रशिक्षणमा १५ महिला र १६ पुरुष गरी ३१ जनाको सहभागिता रहेको प्रशिक्षणको संयोजकमा दिनेश थापा तथा प्रशिक्षकहरूमा राजकुमार लम्साल, ऋषि खड्का, दिवाकर पौडेल, कविता बुढाथोकी हुनुहुन्छ ।  चाँगुनारायण नगरपालिकाको तालिम हल हेलमेट डाँडामा सञ्चालन भइरहेको प्रशिक्षणमा २०८० चैत्र ४ गते देखि ६ गते सम्म वडा नं १, २ र ३ का २३ जना स्वयंसेवकहरूलाई प्रशिक्षण सम्पन्न भइसकेको छ भने चैत्र ७ देखि ९ गते सम्म वडा नं ४,५ र ६ का २४ जना स्वयसेवकहरुलाई तथा चैत्र १२ देखि १४ सम्म वडा नं ७, ८ र ९ का २४ जना स्वयंसेवकहरूलाई प्रशिक्षण सञ्चालन गरिनेछ ।