काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सै घण्टा खुलाउने तयारी

111

काठमाडौं । काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सै घण्टा खुलाउने तयारी गरिएको छ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौंको ठमेल र दरबारमार्ग बजार क्षेत्र २४सै घण्टा खुलाउने तयारी गरिएको हो ।

सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालय काठमाडौंले बेहोर्ने र जिल्ला सुरक्षा समितिले सोहीअनुसार योजना बनाउनेछ । त्यसका लागि आन्तरिक तयारी सुरु भइसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताएका छन् । ‘आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्ष (वैशाख १) भित्रै खुला हुन्छ,’ बस्नेतले भने, ‘सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ । बजार खुलेपछि आउने समस्या र प्रतिक्रियाका आधारमा थप योजना बनाएर कार्यान्वयन गर्छौ ।’

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ । सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

हाल यी दुवै क्षेत्रमा प्रकृतिअनुसार चार समूहमा व्यवसाय गर्ने गरी समय निर्धारण गरिएको स्थानीय प्रशासनले जनाएको छ ।