महालक्ष्मी ९ लामाटारका जेष्ठ नागरिकलाई धार्मिक तीर्थाटनको तयारी

24

ललितपुर । महालक्ष्मी नगरपालिका वडा नं ९ वडा कार्यालय लामाटारले सो वडाका ६५ देखि ७४ वर्षसम्मका एकसय जना जेष्ठ नागरिकलाई आध्यात्मिक जागरण कार्यक्रम अन्र्तगत धार्मिक तीर्थाटनमा लैजाने तयारी गरेको छ ।
यही बैशाख १४ र १५ गते दुईदिने धार्मिक तीर्थाटनको लागि वडाले सो वडाका उक्त उमेर समूहका जेष्ठ नागरिकको नाम संकलन गरि तीर्थाटनको तयारी गरिरहेको छ ।
वडाको आर्थिक वर्ष २०८०÷०८१ को बजेट, नीति तथा कार्यक्रम अनुसार विनीयोजन गरिएको बजेटबाट जेष्ठ नागरिकहरुलाई धार्मिक तीर्थाटनमा सहभागी गराउन लागिएको वडा नं ९ का अध्यक्ष जयकृष्ण बोगटीले बताए ।
जेष्ठ नागरिकहरुलाई धार्मिक तीर्थाटनको लागि उनीहरुको माग बमोजिम चितवनको देवघाट धामलगायतका धार्मिकस्थलको भ्रमण गराइने वडाध्यक्ष बोगटीले बताए ।
७५ वर्षदेखि माथिका जेष्ठ नागरिकलाई भने उनीहरुको स्वास्थ्य र उमेरका कारण हिँड्डुल गर्न अलि समस्या पर्ने भएकोले यो कर्याक्रममा सहभागी नगराइने वडाध्यक्ष बोगटीले बताए ।
सो वडा कार्यालयले गत पुस १५ गते सो वडाका ७५ वर्ष नाघेका २३० जना जेष्ठ नागरिकलाई न्यानो ओढ्ने र बुढेसकालको सहारा लौरो दिएर सम्मान गरेको थियो ।