दक्षिणकाली घटना प्रेम सम्बन्धमा थिए उस्तै पीडा भोगेका सबिना र रामचन्द्र दुवैका परिवारको बेवास्ताले हुन सकेन समयमै उद्धार

39

ईलाका प्रहरी कार्यालय फर्पिङकी प्रहरी निरीक्षक ज्ञान मञ्जरी तिमिल्सेनासहितको टोली सडकबाट करिब ३०० मिटर तल खोंचमा रहेको घटनास्थलमा पुग्यो ।त्यसपछि विपद् व्यवस्थापन कार्यालय सामाखुशीको टोलीलाई झिकाइयो । उक्त टोली पनि पुगेर खोंचबाट दुवैजनाको शव निकालियो । गहिरो खोंचमा रहेका शव निकाल्न प्रहरीले निकै मिहिनेत गर्नुपरेको थियो ।

दुवै शवसँगै मोटरसाइकलका टुक्रा टुक्रा भएका पार्टपुर्जा हेल्मेट, साइलेन्सर र एउटा चक्का पनि सडकबाट खसेको अवस्थामा भेटिए । घटना हेर्दा उनीहरू मकवानपुरबाट काठमाडौंतर्फ आउँदै गरेको जस्तो देखिन्थ्यो । शवनजिकै बागमती प्र ०३-०२-००७ प ३८१२ नम्बरको मोटरसाइकल पनि प्रहरीले भेट्टाएको थियो ।

प्रहरी निरीक्षक मञ्जरीका अनुसार घटना रातको समयमा भएको खुलेको छ । ‘हामीलाई गहिरो खोंचबीचमा शव भेटिएको जानकारी स्थानीयले गराएका थिए’, उनले भनिन्, ‘जेठ २४ गते बिहान १० बजे हामीले दुवै शव घटनास्थलबाट निकालेका थियौँ ।’

को थिए उनीहरू ?

प्रहरीका अनुसार दुवैजनाको पहिचान ३२ वर्षीया सबिना राई  ४२ वर्षीय रामचन्द्र खनालका रुपमा भएको छ । आखिर उनीहरूलाई के भएको थियो त ?  त्यस दिनको घटना के थियो ? उनीहरूबीचको सम्बन्ध के थियो ? जेठ १६ गतेदेखि परिवारको सम्पर्कमा नरहेका उनीहरू कहाँ गएका थिए ? दुर्घटनामा परेको कुरा किन कसैले थाहा पाएन ?

पारिवारिक स्रोतका अनुसार सबिना जेठ १३ सम्म परिवारको सम्पर्कमै थिइन् । जेठ १४ गते सधैझैँ उनी भक्तपुरबाट कार्यालयका लागि निस्किएकी थिइन् । भक्तपुरको चाँगुनारायाण नगरपालिका-५ मा बस्दै आएकी उनका श्रीमान् पनि लामो समयदेखि बेपत्ता छन् ।

मकवानपुरको हेटौँडा निवासी लनम लामा १० वर्षदेखि कहाँ गए ? अत्तोपत्तो छैन । सविना भने भीमसेनगोलास्थित बागमती ह्यान्डिक्राफ्ट उद्योगमा काम गर्थिन् ।

जेठ १५ गते राति १ बजे आसपास सबिनाले बहिनी नविनासँग फोनमा कुरा गरेकी थिइन् । उनले बहिनीलाई आफू रामचन्द्रसँग रहेको जानकारी पनि दिइन् । सबिनाले बहिनी नबिनालाई रामचन्द्रसँग पनि फोनमा कुराकानी गराएकी थिइन् ।

पहिलेदेखि नै सबिनाले रामचन्द्रसँग भेटघाट गरिहने भएकाले नबिनालाई उनीहरूबारे कुनै शंका र संकोच थिएन । उनीसँग दिदी सुरक्षित छिन् भन्ने विश्वास र भरोसा दुवै उनले लिएकी थिइन् । तर जेठ १६ गतेदेखि दिदी अचानक सम्पर्कविहीन भइन् ।

दुवैको एकै व्यथा

उमेर पुगेर पनि प्रौढतिर गइसकेकी दिदी के गर्दा राम्रो र के गर्दा नराम्रो छुट्याउन सक्ने थिइन् । त्यहीकारण नबिनाले दिदीबारे धेरै चासो र चिन्ता लिनुपर्ने पनि थिएन । तर श्रीमान् बेपत्ता भएदेखि सबिनाले भोगेको तनाव र हन्डर भने चानचुने थिएन ।

श्रीमान् बेपत्ता भएदेखि दु:खको पहाड देखेकी दिदी आफ्नोबारे सचेत थिइन् । उनी कहाँ जाने ? के गर्ने ? भन्ने कुरामा चनाखो भएकाले धेरै खोजीनिति गर्दा राम्रो नहुने नबिनाले ठानेकी थिइन् ।

जेठ १६ गते दिउँसोदेखि नै बेपत्ता दिदी त्यो रात घर नआएपछि भने चासो बढ्यो । त्यसपछि नबिनाले दिदीको नम्बरमा डायल गरिन् । तर उनको फोन रिसिभ भएन ।

तर पनि मोबाइलको ब्याट्री सकियो कि भन्ने अनुमानमा नबिना थिइन् । विद्युत् नभएको ठाउँमा पुगेर मोबाइल चार्ज गर्न नपाएको हुन सक्ने अनुमान पनि उनले लगाइन् ।

पुरानै परिचितहरू एकसाथ घुम्न निस्किएकाले व्यस्त भएको अनुमान पनि नबिनाको थियो । तर जेठ २३ गते अचानक फर्पिङमा शव भेटिएको कुराले नबिना छाँगाबाट खसे जस्तो भइन् ।

उता सबिनासँगै बेपत्ता भएका रामचन्द्र धादिङको सिद्धलेक गाउँपालिका-५ का स्थायी बासिन्दा हुन् । उनी भक्तपुरकै चाँगुनारायणमा बस्दै आएका थिए । खनाल नेप्सेक्याक नामक फोहोरमैला व्यवस्थापन कम्पनीमा सवारी चालक थिए ।

उनका आफन्तहरूले  बताएअनुसार रामचन्द्र पनि जेठ १५ देखि कसैको सम्पर्कमा थिएनन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक एवम् प्रवक्ता नवराज अधिकारीका अनुसार उनीहरूको चिनजान फेसबुकबाट भएको खुलेको छ ।

‘के कसरी भेटघाट भयो भन्ने कुरा सोध्न अब उनीहरू दुवैजना जीवित रहेनन्’, उनले भने, ‘उनीहरूको परिचय भने फेसबुकबाट भएको खुलेको छ ।’

पारिवारिक स्रोतका अनुसार उनीहरू ५/६ महिनादेखि प्रेम सम्बन्धमा रहेका थिए ।

‘दुवैजनाको परिवारले समयमा खोजी नगर्दा शव सड्न पुग्यो ’, प्रहरी उपरीक्षक अधिकारीले भने, ‘त्यो सडकखण्डमा मानिसहरूको आवतजावत पनि कम हुनाले उनीहरूको शव सड्ने अवस्थमा पुगेको हुन सक्छ ।’

परिवारका अनुसार रामचन्द्र र उनकी श्रीमती पाँच वर्षदेखि अलग बस्दै आएका छन् । एकसाथ अघि बढ्ने परिस्थिति नबनेपछि ७ महिनाअगाडि मात्रै उनीहरूले सम्बन्धविच्छेद गरेका थिए ।

पारिवारिक अवस्थाबारे बुझन् खोज्दा दुवैजनाका आफन्तले केही बोल्न चाहेनन् । आफ्नो परिवारका सदस्यबारे सञ्चारमाध्यममा बोल्नु र नबोल्नु उनीहरूको अधिकार हो । तर गम्भीर प्रकृतिको घटनामा मौन बस्नु पनि उचित होइन ।

मृतक दुवैजनाको पछिल्लो अवस्था एकल रहेको खुलेको छ। अर्थात् सम्बन्धमा रहे पनि उनीहरूले समेत आपसमा बिहे गरिसकेका थिएनन् । पहिलो घरबार बिग्रिएर  नयाँ अध्याय सुरु गर्ने तयारीमा उनीहरू नजिकिएका थिए ।

एकल वा सम्बन्धविच्छेद गरिसकेकालाई समाजले अझै हेयको नजरले हेर्छ । त्यहीकारण दुवैजनालाई उनीहरूका परिवारका सदस्यले ८ दिनसम्म खोजी गरेनन् । प्रहरीका अनुसार उनीहरू मोटरसाइकल दुर्घटनामा परेर त्यो अवस्थामा पुगेका हुन् । तर सम्पर्कविहीन भएपछि परिवारले चासो दिएको भए मोबाइल फोनको लोकेशनका आधारमा उनीहरूको अवस्था समयमै खुल्थ्यो ।

तर्क

समाजशास्त्री निर्मला ढकाल भने एकल तथा सम्बन्धविच्छेद भएकाहरूलाई परिवारले नै अपहेलित गर्ने कुरामा सहमत छैनन् । अहिले विचार नमिलेको अवस्थामा छुट्टिनुलाई धेरैले सामान्य मान्दै गएको उनी बताउँछिन् ।

एकल वा सम्बन्धविच्छेदबीचको प्रेम सम्बन्धलाई मानिसहरूले अझै पनि समाजमा देखाउन आँट गर्दैनन् । त्यहीकारण उनीहरू आफ्ना व्यैयक्तिक सम्बन्धलाई लुकाएर राख्न मन पराउँछन् ।

अर्कातिर दुईजना वयस्क पुरुष महिला एकसाथ घुम्न निस्केकाले धेरै दिन हराउँदा पनि फर्केर आउने आशमा खोजी नभएको अनुमान प्रहरीको छ ।खवरहवको सहयोगमा