नेत्रज्योती कृषि सहकारीको  १२ औँ साधरणसभा सम्पन्न

10

चौतारा । नेत्रज्योती कृषि सहकारी संस्थाको १२औँ साधरणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको साधरणसभा तथा खिर खाने कार्यक्रमका प्रमुख अतिथि चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यवाहक नगर प्रमुख सिता थापाले कार्यक्रमको उद्घाटन गर्दै सहकारीका माध्यमबाट गरेको कामहरूमा पारदर्शिता र स्तरियता हुने बताउनु भएको छ  । उहाँले सहकारीहरू नाफामुखी व्यापारमुखी हुनुभन्दा पनि सेवामुखी हुनुपर्ने बताउनु भयो  । हरेक उत्पादनमा नगरपालिकाले अनुदान दिएको छ, हरेक क्षेत्रमा उत्पादनका लागि बिउ बिजन, मलमा अनुदान दिएको छ, तर पनि नगरका खेतीयोग्य जमिनहरू बाँझै रहेका छन्, यसतर्फ सबैको ध्यान जान जरुरी रहेका बताउँदै उत्पादनमूलक काममा सबै मिलेर अगाडी बढ्न पर्ने समेत बताउनु भयो ।

प्राय कृषकहरूले पहिलो त आफैले खानका लागी खेती गर्ने गरेको भए पनि आफूले  प्रयोग गरेर बाँकी रहेको सामाग्री बिक्री गरेर नगदमा परिणत गरेर अरू खाँचो टार्ने गरेको पाइएको धारण व्यक्त गर्नुभयो । नगरपालिकाले यसबर्ष दूध उत्पादनमा दिइरहेको अनुदान र उत्पादनका आधारमा दिइएको अनुदान कृषकले पाउँदा के उपलब्धि भयो भन्ने तर्फ पनि सोच्न पर्ने बेला आएको बताउनु भयो ।

संस्थाले विगतको दिनहरूमा जस्तै आगामी दिनमा राम्रो गर्न सकोस् यसका लागी नगरपालिकाबाट हुन सक्ने सहयोग गर्ने भन्दै शुभकामना व्यक्त गर्नुभएको थियो । उहाँले आम्दानीको एक मात्र स्रोत कृषि रहेको बताउँदै कृषि उत्पादनमा सबै लागी पर्नु पर्ने बताउनु भयो ।

कार्यक्रमका विशेष अतिथि १४ नं. वडाका वडा अध्यक्ष उद्धव नेपालले अनुदान लिनका लागी प्रतिस्पर्धा हुनपर्छ प्रतिस्पर्धामा भएका कामहरू नै परिणाममुखी हुने छ भन्दै वडा र नगरबाट स्थानीय स्तरमा नै उत्पादन हुने सामाग्रीलाई प्रोत्साहन दिइरहेको बताउनु भयो । आफ्नो गाउँमा रहेको कृषि सहकारीले ११ वर्ष पुरा गरी १२ वर्षमा प्रवेश गरेसँगै वडाले पनि कृषिसँग आबद्ध काम गर्ने र आम्दानीको मुख्य श्रोत कृषि भएकोले कृषिप्रति आकर्षित रहनुपर्छ बताउनु भयो ।

नगर सहकारी सञ्जालका संयोजक नरमान श्रेष्ठले सहकारीहरूलाई व्यवस्थित र  सुरक्षित तरिकाबाट सञ्चालन गर्नका लागी सञ्जालले विशेष भूमिका खेल्ने बताउनु भयो ।

जनहित दुग्ध उत्पादन सहकारी संस्थाका अध्यक्ष बद्री प्रसाद नेपालले कृषि क्षेत्रमा काम गरिरहेको नेत्रज्योती कृषि सहकारी संस्थाले गरेका कामहरूका बारेमा प्रशंसा गर्दै  कामहरू सुरु गरेर मात्र हुँदैन यसको स्थायित्वमा पनि ध्यान दिनपर्ने बताउनु भयो । डडुवा बचत तथा ऋण सहकारी संस्थाका सचिव तथा भेष बहादुर नेपालले नेत्रज्योती कृषि सहकारी संस्थाले नयाँ नयाँ योजनाहरू ल्याएर काम गरिरहेकोमा विशेष धन्यवाद दिँदै आगामी दिनमा अझै अगाडी बढ्न सकोस् भन्नुभयो ।

संस्थाका सहसचिव जयराम नेपालले स्वागत मन्तव्य राख्दै सहकारी संस्थाले गरेका कामहरू र आगामी वर्षमा गरिने कार्यक्रमका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका  अध्यक्ष कृष्ण बहादुर नेपालको अध्यक्षतामा भएको साधारण  सभाको सञ्चालन भने संस्थाका व्यवस्थापक नेत्र बहादुर बस्नेतले गर्नुभएको थियो ।

सहकारी संस्थाको साधारण सभाले आव २०८०-८१ को   आयव्ययका साथै आगामी वर्षको नीति तथा कार्यक्रमहरू पारित गरेको छ । साउन १५ सँगै सहकारी संस्थाको वार्षिक साधारण सभाको अवसरमा उपस्थितिहरूलाई खिर खुवाइएको थियो ।