भक्तपुर । यसवर्षको बडादशैंका लागि भक्तपुरको नवदुर्गा मन्दिरमा खःम्ये अर्थात महिषासुर राक्षसको प्रतिक (निख्खर कालो राँगो) चयन भएको छ ।
घण्टाकर्ण चतुर्दशीदेखी जनैपुर्णिमा भित्र नवदुर्गा मन्दिरको द्यःछें (देवगृह)मा खम्ये भित्र्याउनु पर्ने परम्परा अनुसार खःम्ये चयन गरिने प्रचलन रहेको छ ।
के हो ख:म्ये ?
भक्तपुरमा बडादशैंको महानवमीको राती ब्रम्हायणी मन्दिरमा नवदुर्गा देवगणको सिद्धी प्राप्तीको लागि बलि दिन धार्मिक, साँस्कृतिक र ऐतिहासिक रुपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर राक्षसको प्रतिकको रुपमा लिईन्छ ।
खःमेय् निख्खर कालो, पुच्छर घुँडाभन्दा तलसम्म आएको, सिङ र कानमा कुनै खोट नभएको, शरिरभरी कुनै घाउचोट नलागेको, शरिरमा सातवटा चक्र भएको ठूलो मोटोघाटो हुनुपर्ने मान्यता रहेको छ ।
खःमेय् देवगृहमा भित्र्याउनु अघि तलेजु मन्दिरका पदाधिकारीले अवलोकन गरी योग्य छ छैन निक्र्यौल गरिन्छ । त्यसपछि सोही स्थानबाट खःमेयई झिगाँं र लामखुट्टेले टोक्न नकोस भनी तोरीको तेल लगाएर देवगृहमा ल्याउने परम्परा छ । देवगृहमा भित्र्याएपछि खःमेय्लाई जसले नवदुर्गा देवगृहको किलामा बाँड्छ सोही व्यक्तिले नै नवमीको दिनमा किलाबाट खोल्ने र आफै ब्रम्हायणी पिठमा गई बलि दिइने परम्परा समेत रहको छ ।
खःमेय्लाई महानवमीसम्म भक्तपुर गछेंस्थित नवदुर्गा देवीको द्यःछें (देवगृह)भित्र राखेर पाल्ने परम्परा रहेको छ । विधिवतरुपमा नवदुर्गा द्यःछें भित्र्याएको खःम्ये लाई महानवमीको साँझ ब्रम्हायणी लैजान मात्र बाहिर निकालिइन्छ । सोही दिन खम्येलाई जाँड, रक्सी खुवाउने र शरिरभरी तेल लगाएर अबिर छरेर दौडाएर ब्रम्हायणी पीठ पु¥याउने प्रचलन रहेको छ ।
महिषासुरको प्रतीक मानिएको खःमेय्लाई दौडाएर ब्रम्हायणी पु¥याउने परम्परालाई स्थानीय भाषामा खःमेय् व्वाकेगु जात्रा (राँगो दौडाउने जात्रा)को रुपमा लिईन्छ जुन विजयादशमीको अवसरमा भक्तपुरमा मनाईने एक महत्वपूर्ण जात्रा हो ।
महानवमीको मध्यरातमा त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रुपमा पूर्ण हुनेहुँदा त्यस रुपमा महिषासुर बध गर्ने प्रचलित धार्मिक लोक मान्यता अनुरुप खःमेय् बलिपुजा गरी जात्रा मनाउने गरिन्छ ।
कालरात्रिका क्रममा वध गरिएका निकुथु र खःमेय्को मासुका टुक्रा प्रसादका रुपमा घरलगी सुकुटी बनाई धुलो पारेर ध्यूमा मुछी धुप बनाइन्छ र लक्ष्मीपुजाको दिनमा बाल्ने चलन रहेको छ । सो धुप बाल्दा घरमा भूतप्रेत भाग्ने, शत्रु नाशहुने र लक्ष्मीले बास गर्ने जनविश्वास रहेको छ ।
खःम्ये यही मिति २०८१/०४/२१ सोमवारका दिन श्री नवदुर्गा मन्दिरमा भित्राउने नवदुर्गा मन्दिरका नाइकेले जानकारी दिएका छन् ।