सल्लाघारीको जोखिमयुक्त रुख काट्न सुरु 

23

भक्तपुर । भक्तपुरको सल्लाघारीस्थित चोङा गणेश वनको जोखिमयुक्त रुख काट्न सुरु गरेको छ । डिभिजन वन कार्यालय सानोथिमि, भक्तपुरले उक्त स्थानको जोखिमयुक्त रुख काट्न सुरु गरेको हो ।

सल्लाघारीको चोङा गणेश वन क्षेत्रको केही सल्लाका रुखहरू जीर्ण भएको र कुनै पनि बेला ढलेर धनजनको क्षति हुन सक्ने भएकाले ती जोखिमयुक्त रुख काट्न सुरु गरेको प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताउनुभयो ।

“सामाजिक सञ्जाल र प्रशासनमा समेत तस्बिर सहित केही रुख जोखिमयुक्त भएको जनगुनासो आएपछि डिभिजन वन कार्यालयलाई अनुगमनका लागि आग्रह गरिएको र सो अनुसार वनको टोलीले अनुगमन गरी ढल्केका, जरा कमजोर भएका जोखिमयुक्त रुख काट्न सुरु गरेका हौँ,” उहाँले भन्नुभयो । 

उहाँका अनुसार चोङा गणेश वन र नेपाली सेनाको सैनिक आवासीय महाविद्यालय हाताका समेत गरी करिब दुई दर्जन रुख काटिने छ । रुखको व्यवस्थापन डिभिजन वन कार्यालय सानो थिमिले गरिरहेको वन अधिकृत विनीता पाण्डेले बताउनुभयो ।

उक्त क्षेत्रमा वि. सं. २०७९ साउन ७ गते रुख ढलेर गुडी रहेको बस र स्कुटरलाई थिच्दा तीन जनाको मृत्यु हुनुका साथै १२ जना घाइते भएका थिए ।