सांसद थापा उपचारका लागि दिल्ली प्रस्थान

51

भक्तपुर । भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापा स्वास्थ्य उपचारका लागि भारतको राजधानी दिल्ली प्रस्थान गर्नुभएको छ । नेपाली काँग्रेस भक्तपुरका सभापति समेत रहनुभएका सांसद थापा नसा सम्बन्धित एभिएन पेल्भिस रोगको थप उपचारका लागि आइतबार दिल्ली जानुभएको हो ।

सांसद थापा नेपाल एयरलाइन्सको उडान नं. आर ए २१७ बाट दिउँसो साढे एक बजे दिल्ली जानुभएको उहाँको सचिवालयले जनाएको छ । दिल्लीमा उहाँको उपचार फोर्टिस अस्पतालमा डा. सुनिल टुली नेतृत्वको टोलीले गर्नेछ ।

सांसद थापा विगत एक वर्ष देखी एभिएन पेल्भिस रोगबाट पीडित हुनुहुन्छ । गत वर्ष उहाँले सुरुमा भक्तपुर अस्पताल, त्यसपछि ट्रमा सेन्टर र मध्यपुर अस्पतालमा उपचार गर्दा पनि ठिक नभएपछि थप उपचारका लागि दिल्ली जानुभएको थियो ।

२०८० कार्तिक ३० गते दिल्ली जानुभएका थापा फोर्टिस अस्पतालमा करिब डेढ महिनापछि पुस ११ गते स्वदेश फर्कनु भएको थियो । अहिले सोही रोगको थप उपचारका लागि सांसद थापा दिल्ली जानुभएको उहाँको सचिवालयले जनाएको छ ।

उहाँका साथ उहाँका निजी सचिव सुभाषिश ढकाल र परिवारका सदस्य दिल्ली जानुभएको छ । सांसद थापालाई शीघ्र स्वास्थ्य लाभको कामनासहित बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ, नेपाली काँग्रेसका नेता एवम् पूर्व मन्त्री कृष्णलाल भँडेल, सूर्यविनायक नगर समितिका सभापति निशान ढुङ्गेलसहितका पदाधिकारीहरू र नेपाली काँग्रेसका नेता एवम् शुभेच्छुकहरूले बिदाइ गर्नुभएको थियो ।