उठबस गर्न नपाई पतिको नाममा ९० लाख क्षतिपूर्ति

456

भैरहवा : एक सेकेण्ड पनि पतिसँगै देखभेट–उठबस नगरी हकदारका रूपमा ९० लाखभन्दा बढी रकम बुझ्दा नन्दनी माली अचम्ममा परिन्। रुपन्देही शुद्धोधन नगरपालिका निवासी उनी कतारको दोहामा ज्यान गुमाएका पति नन्दकुमार पासीको वियोगमा छिन्। उनीहरूको जोडी अभिभावकले बाल्यकालमै जुराइदिएको हो। वैदेशिक रोजगारका लागि कतारको दोहामा रहेका २३ वर्षीय नन्दकुमारको कामकै सिलसिलामा ज्यान गएको हो। नन्दकुमार १८ वर्षमा कतार गएका थिए। ‘पैसा त पाएँ तर उनीसँग एक सेकेण्ड पनि देखभेट उठबस गर्न नपाई जीवनभरका लागि गुमाएँ। अब एक्लो जीवन कसरी बिताउने’, उनले भनिन्। अभिभावकले सानैमा विवाह गरिदिएको उक्त जोडीको ‘गौना’सम्म भएको थिएन। तीन वर्षपहिला नन्दकुमारको कतारको दोहामा काम गर्दैगर्दा क्रेनले चेपिएर मृत्यु भएको थियो। नन्दकुमारको क्षतिपूर्ति एवं बिमाबापत पाउने ९० लाख रुपैयाँ उनका हकदारले पाएका हुन्। शुद्धोधन नगरपालिका–७ निवासी २१ वर्षीया नन्दनीले ९० लाख १७ हजार ५ सय १२ रुपैयाँ जिल्ला प्रशासन कार्यालय रुपन्देहीमार्फत बुझेकी छन् । वैदेशिक रोजगारी क्रममा विभिन्न मुलुकमा ज्यान गुमाएकामध्ये यो वर्ष नन्दनीलगायत सात जनालाई क्षतिपूर्ति एवं बिमाबापतको रकम हस्तान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिए। दोहास्थित नेपाली दूतावास, परराष्ट्र र गृह मन्त्रालयको पहलमा उक्त क्षतिपूर्ति रकम हात परेको हो । नन्दनीले बुझेको यो रकम हालसम्मकै ठूलो हो। अहिले पनि मधेसी समुदायमा चार चरणमा विवाह हुने प्रचलन कायम छ। बच्चा जन्मनेबित्तिकै अभिभावकले आफूलाई मन परेका व्यक्तिका छोराछोरीसँग विवाह गरिदिने वाचा गर्छन्। छोरी बाल्यकालमा पुगेपछि केटाको घरमा गई नगद, फलफूल सामान दिने ‘तिलक’  प्रथा प्रचलनमा छ। तिलकपछि विवाह गरिन्छ। केटीलाई माइतै छाडेर दुलाहा घर फर्कन्छन्। केटाकेटी किशोर अवस्थामा पुगेपछि विवाह भएको बिजोर वर्ष पारी गौना गर्ने चलन छ । गौना भएपछि मात्रै केटीको घरजम सुरु हुन्छ। मधेस–तराईमा नन्दकुमार र नन्दनीकै जसरी बाल्यकालमै विवाह गरिदिने चलन अहिले पनि छ । हुर्के बढेपछि भनेजस्तो केटा–केटी नपाइने तथा दाइजो पनि धेरै दिनुपर्ने प्रचलन रहँदा मधेसका धेरै विपन्न समुदाय चेपुवामा छन्। त्यसैले बोझ हल्का गर्न सानैमा छोरीको विवाह गरिदिने चलन रुपन्देहीलगायत तराईका जिल्लामा कायमै छ । बालविवाह गर्न कानुनले प्रतिबन्ध लगाए पनि लुकिछिपी ग्रामीण भेगमा चलिरहेको छ। तराई मधेसमा रहेको परम्परा पछ्याउँदै यसरी नै लगनगाँठो कस्सिएको हो । २१ वर्षीय नन्दनी र २३ वर्षीय नन्दकुमारको भौतिक रूपमा भेटघाट नभईकनै विछोड भएको हो।अन्नपूर्ण पोस्ट