सिधाकुराका प्रकाशक र सम्पादकलाई तीनमहिना कैद, केन्द्रीय कारागार चलान

9

काठमाडौं । सिधाकुरा डटकमका प्रकाशक र सम्पादकलाई सर्वोच्च अदालतको फैसलाअनुसार केन्द्रीय कारागार सुनधारा, जगन्नाथदेवलमा जेल चलान गरिएको छ। जेल चलान हुनुभन्दा अगाडि सम्पादक नविन ढुंगानाले फेसबुकमार्फत आफूहरू कैद सजाय भोग्न केन्द्रीय कारागारमा गएको र समाचार धर्मबाट कहिल्यै विचलित नहुने बताएका छन्।

आइतबार, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरूको बृहत पूर्ण इजलासले ३–३ महिनाको कैद सजाय सुनाएको हो। उनीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेशनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश र केही सञ्चारमाध्यम सञ्चालकहरूको लेनदेन गरेको आरोपसहित समाचार र भिडियो सामग्री प्रकाशन गरेका थिए।

सर्वोच्चले राजकुमार तिमल्सिनालाई पनि ६ महिनाको कैद र सिधाकुरा डटकमलाई ५ हजार रुपैयाँ जरिवाना गर्ने आदेश दिएको छ। यो मुद्दामा सर्वोच्चले पत्रकारिता सम्बन्धी गरिएको कारबाहीमा अहिलेसम्मकै सबैभन्दा ठूलो कैद सजाय सुनाएको हो।