ताथलीमा भिन्तुना र्याली विषयक अन्तरक्रिया

48

भक्तपुर । भक्तपुरको ताथलीमा प्रगति युवा समाजले गर्दै आइरहेको भिन्तुना र्यालीका विषयमा अन्तरक्रिया गरिएको छ । र्यालीका सन्दर्भमा सोमबार दाफा भजनका सांस्कृतिक टोली, सहकारीकर्मी, शिक्षक, युवा समूहका प्रतिनीधिहरुसँग अन्तरक्रिया गरेको हो ।
कार्तिक १७ गते शनिबार नेपाल संवत् ११४५ को अवसरमा ताथलीमा गर्ने र्यालीलाई सफल बनाउन सो छलफल गरिएको समाजले जनाएको छ । अन्तरक्रियामा नेपाल मजदुर किसान पार्टी ताथलीका संयोजक नारायणभक्त न्हेम्हाफुकीले र्यालीलाई सभ्य र सांस्कृतिक रुपले सफल बनाउन सुझाव दिए । उनले र्यालीले समाजलाई सुसंस्कृत बनाउने भएकाले विगतमा भएका कमीकमजोरीलाई घटाउँदै लग्नुपर्ने बताए ।
चाँगुनारायण नगरपालिका वडा नंं ९ का वडा सदस्य एवम् समाजका सल्लाहकार रबिन बासुकलाले नगरपालिका र वडाका गतिविधिबारे जानकारी दिँदै समाज परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण हुने भएकाले भिन्तुना र्यालीकै कारण ताथलीको पहिचान बढको बताए ।
कार्यक्रममा शिक्षासेवी कृष्णराम बासुकलाले कला, साहित्य र भाषाले मानव जीवनलाई समृद्ध बनाउने भएकाले त्यसको जगेर्ना र सम्वर्द्वनमा एकजुट भएर लाग्न सुझाव दिए । देवी माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर थुयाजुले सामुहिक भावना, एकता, सहभागिता र आर्थिक सहायताले कुनै पनि कार्यक्रम सफल हुने भएकाले कार्यक्रमका दौरान आएका कठिनाइदेखि निराश हुन नहुनेमा जोड दिए ।
सोही कार्यक्रममा देवी सांस्कृतिक समूहका रामप्रसाद छुकां, बनदेवी धिमे खलः का श्रीराम त्वाती, तैकाबु गणेश सांस्कृतिक समूहका सचिव पुरुषोत्तम साखकर्मी, माझी भैरब सांस्कृतिक खलः का अध्यक्ष कूलबहादुर न्हेम्हाफुकीले मौलिक सांस्कृतिक गतिविधिलाई बढावा दिन चुनौती रहे पनि ती गतिविधिलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।
कार्यक्रममा सयपत्री साकोसका अध्यक्ष हरिगोपाल बासुकला, सिम्रिक साकोसका अध्यक्ष रमेश न्हेम्हाफुकी, सयपत्री साकोसका सचिव सत्यराम थुयाजु, प्रगति समूहका अध्यक्ष बिमल न्हेम्हाफुकीलगायतले प्रगति युवा समाजले गरिरहेको विभिन्न कामको समीक्षा गर्दै थप क्रियाकलाप गर्न सुझाव दिए । उनीहरूले समाजको क्रियाकलापलाई सहयोग गर्ने समेत बताए ।
आयोजक समाजका अध्यक्ष हरिसुन्दर छुकांकाे सभापतित्वमा सम्पन्न अन्तरक्रियामा समाजका सचिव रवीन्द्र न्हेम्हाफुकी र कोषाध्यक्ष जयकृष्ण न्हेम्हाफुकीले समाजले गर्दै आइरहेका विभिन्न क्रियाकलापबारे जानकारी दिँदै भिन्तुना र्यालीलाई थप व्यवस्थित गर्न सुझाव संकलनका लागि अन्तरक्रिया गरिएको बताए । समाजका सचिव न्हेम्हाफुकीले अन्तरक्रियामा आएका सुझावलाई समाजले सम्बोधन गर्दै अघि बढ्ने प्रतिवद्धता समेत जनाए ।