कुभिण्डो (भुईफसी) मार हानेर मध्यपुर थिमिमा ‘खाँ पिहाँवईगु’ जात्रा सम्पन्न

8

भक्तपुर 
पापाङ्कुशा एकादशीको अवसरमा आइतवार मध्यपुर थिमिमा मल्लकालिन युद्धको झल्को दिने गरी ‘खाँ पिहाँवईगु’ (खाँ निस्कने) जात्रा मनाईएको छ । तत्कालिन राजदरवारको रुपमा रहेको लाय्कुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाल, युद्धकवज लगायत मल्लकालिन युद्धमा प्रयोग हुने साधन बोकेर युद्ध कला प्रदर्शन गर्दै खाँ पिहाँवईगु जात्रा गरिएको हो ।


दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारहरुले जामा लगाएर खड्ग, ढाल र तरबार हातमा बोकेर तत्कालीन युद्धकला प्रदर्शन गर्दै नगरपरिक्रमा गरिएको हो ।
तत्कालिन दरबारबाट निकालिने यो जात्रालाई थहनेया टोल (माथिल्लो टोल)को रूपमा ईनाएटोल, दुईपोखरी हुँदै दिगु भैरवसम्म र कोहनेया टोल (तल्लो टोल)को रूपमा दथुटोल हुँदै बालकुमारीसम्म प्रदर्शन गरिएको थियो ।


जात्राको क्रममा बडादसैंको महानवमीमा तलेजु भवानीलाई बली चढाएको खःम्ये (राँगा)को टाउको, कोतभित्र अवस्थित देवता र दरबारको राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराईएको थियो । विशेषगरी यो जात्रामा नायः पःमां (तत्कालीन दरबारका प्रमुख प्रशासक, श्रेष्ठ थरका), कर्माचार्य, जोशी, कुटु, प्याथः (प्रजापति), खड्गी समुदायको प्रत्यक्ष संलग्नता रहन्छ ।


जात्रामा खःम्येको टाउकोको साथमा हिकोँचा (रगत भरिएको घ्याम्पा) समेत नगर परिक्रमा गराई प्रदर्शन गरिएको थियो । जात्रा सम्पन्न भएपछि खड्गी समूदायले बोकेर प्रदर्शन गरिएको हिकोँचा पुजा गरेर भेँडा बली दिएर भोज खाने परम्परा रहेको मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताउनुभयो ।


जात्राका अवसरमा बालकुमारीमा भुईफसी (कुभिण्डो) मार हानेर बली दिईएको थियो । बली दिइएको भुईफसी प्रसादकोरुपमा लिए रोगबाट बच्न सकिने जनविश्वास रहेको छ । जात्राको अन्तिममा भुईफसी मार हान्ने भएकाले यसलाई ‘भुईफसी पालेगु जात्रा’ पनि भनिन्छ ।


मल्लकालिन समयमा तत्कालिन थिमि राज्यको प्रमुख प्रशासकीय केन्द्र हालको लायकू दरबार (आदर्श मावि) थियो । थिमिको धार्मिक तथा साँस्कृतिक जात्रा पर्वमा लाय्कू प्रमुखको उपस्थिती अनिवार्य मानिन्छ । लाय्कू प्रमुखलाई नायो पमाः र अन्य सहायकलाई पमाः भनिन्छ । लाय्कूको नायो पमाः नेपाल सरकारको गुठी संस्थानले नियुक्त गर्ने परम्परा रहेको नगरप्रमुख श्रेष्ठले जानकारी दिनुभयो । हाल थिमि लायकूका नायो पमाःं श्यामकाजी पःमां श्रेष्ठ हुन् ।


थिमि स्वशासित राज्यमा जोशी, कर्माचार्य, श्रेष्ठ, प्रजापति, कुटु, प्याथः, खड्गी, कपाली तथा अन्य समुदायको आवद्धता थियो । श्रेष्ठ थर मध्ये छुँ, खुटेखाटे, प्वात्या लगायतको आवद्धता दरबारिया प्रशासकको रुपमा र कुटु÷प्याथः समुदाय सैनिकको रुपमा दरबारमा थिए भने खड्गी समुदायले खाँ सम्बन्धीको काम गर्ने, बाजा बजाउने र कपाली समुदायले म्वायली बाजा बनाउनेको रुपमा काम गर्थे ।


यसैगरी विजयादशमीको मध्यराती मध्यपुर थिमिको नगदेशमा खाँ पिहाँवइगु जात्रा मनाईएको थियो । नगदेशको लाय्कूबाट मध्यराती राजखड्गसहित हातहतियार प्रदर्शन गर्दै जात्रा मनाईएको थियो ।
नगदेशको लाय्कूका नायो पमाःको नेतृत्वमा निस्किएको जात्राले सिद्धिगणेश परिसरमा कुभिण्डो (भुईफसी) मार हानेको थियो । जात्रामा सहभागीहरुले परम्परागत सेतो जामा लगाएका थिए ।
जात्राको अवलोकनका लागि मध्यपुर थिमिमा नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, गुठी संस्थान भक्तपुरमा प्रमुख खिमा ओलीलगायतको सहभागिता रहेको थियो । उहाँहरुलाई स्थानीय समेत हनुभएका जिल्ला समन्वय समिति भक्तपुरमा उपप्रमुख सुजाता बादेर वडाअध्यक्ष कृष्णकुमार प्रजापतिले स्वागत गर्नुभएको थियो ।