राष्ट्रपतिले गरे नवदुर्गाको पूजा

27

भक्तपुर । बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमाका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुरस्थित नवदुर्गा मन्दिरमा गई पूजाअर्चना गरेका छन् । सो अवसरमा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।

राष्ट्रपति पौडेललाई नवदुर्गा मन्दिरका मूल नाइके सूर्यमान वनमाला, मूल पुजारी रमेश कर्माचार्यलगायत सहायक नाइकेहरूले नवदुर्गाको प्रसाद प्रदान गरे । राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शनसमेत गरे ।

राष्ट्रपतिले नवदुर्गा भवानीको जमरा एवं टीका प्रसाद, फूलमाला, बिमिरा र पञ्चरङ्गी धागो प्रसादस्वरुप ग्रहण गरे । नवदुर्गाका २८ जना देवगण, पुजारी तथा तलेजुका मूल नाइकेलाई राष्ट्रपतिले दक्षिणा दिएका थिए ।

त्यसैगरी, राष्ट्रपतिलाई तलेजु मन्दिरका मूल नाइके नरेन्द्रप्रसाद जोशीले तलेजुको फूल, माला तथा प्रसाद प्रदान गरे । राजा हरिसिंह देव र रानी देवलदेवीले सिम्रणगढबाट ल्याएको मूल भक्तपुर तलेजुको प्रसाद र एकान्त कुमारीको प्रसाद राष्ट्रपति पौडेललाई प्रदान गरेको जोशीले बताए ।

राष्ट्रपतिलाई प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौला, गुठी संस्थान कार्यालय भक्तपुरका प्रमुख खिमा वली, राष्ट्रिय अनुसन्धान भक्तपुरका प्रमख टेकराज तिमिल्सिना, नागरिक अभियन्ता, सुरक्षा निकायका प्रमुखहरुलगायतले स्वागत गरेका थिए ।

मल्लकालदेखि राजा, महाराजाहरूले नवदुर्गाको पूजा, अर्चना गर्दै आए पनि बीचमा यो परम्परा तुटेको थियो । २०४५ सालमा भूकम्प आएपछि दैवीप्रकोपको घटनाले देश र जनताको हित एवं कल्याणका निमित्त तत्कालीन राजाहरूले राष्ट्रप्रमुखको हैसियतमा र गणतन्त्र आएपछि राष्ट्रपतिले यो पूजाअर्चनालाई निरन्तरता दिन थालेको नवदुर्गा मन्दिर व्यवस्थापन समितिका सल्लाहकार नारायणप्रसाद वनमालाले जानकारी दिए ।

नवदुर्गाअन्तर्गत ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, बाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकालीको पूजा गरिन्छ ।