भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीमा १७ गते भिन्तुना र्याली हुने भएको छ । ताथलीमा विभिन्न सामाजिक गतिविधि गर्दै आइरहेको प्रगति युवा समाजको आयोजनामा सो र्याली हुने भएको हो ।
नेपालीहरुको साझा संवत् नेपाल संवत्को सम्वद्र्धन र प्रवद्र्धनका लागि विगत ८ वर्षदेखि गर्दै आएकोे भिन्तुना र्यालीलाई यो वर्ष पनि निरन्तरता दिँदै र्यालीलाई सफल बनाउन समाजले आह्वान गरेको छ ।
र्यालीमा ताथलीको खगाङ बाँसुरी बाजा समूह, बनमाला टोलस्थित ताथली धिमे खलः, गचाको देवी सांस्कृतिक समूह, थनेको माझी भैरब बाँसुरी बाजा खलः, फैढोकाको तैकाबु गणेश बाँसुरी खलः, फैढोका धिमे खल, गचास्थित आजु धिमे खल, वनदेवी धिमे खलः, लगायतका सांस्कृतिक टोली, विभिन्न संघसंस्था, विद्यालय, सहकारी, युवा समाज, समूहका प्रतिनिधिहरु, युवा, महिला, बालबालिका, ज्येष्ठ नागरिककोे सहभागिता रहने आयोजक समाजका सचिव रवीन्द्र न्हेम्हाफुकीले बताए । पहिला मोटरसाइकल र्याली हुने गरेकोमा यस वर्षदेखि पैदल र्याली हुने कार्यक्रम संयोजक जयकृष्ण न्हेम्हाफुकीले जानकारी दिए ।
ताथलीको गचा(सौडाल चोक)बाट सुरु हुने सा र्याली थने, गोठालेचौर, बनमाला टोल, वडा कार्यालय, राउत–बाला टोल, साखकर्मी टोलको परिक्रमा गर्ने गरी प्रदक्षिणा मार्ग तय भएको समाजका अध्यक्ष हरिसुन्दर छुकांले बताए । उनका अनुसार र्यालीको समापन फैढोकामा हुनेछ ।